
काम गर्ने निर्माण व्यवसायीलाई हौसला बढाऔँ
‘घोँडा चढ्ने लड्छ’ भन्ने नेपाली उखान छ । असफलता काम गर्ने सिलसिलामा दुख हुन्छ । असफलता नै सफलताको पहिलो खुड्किलो हो, दिशा निर्देश पनि हो । काम गर्नेको चर्चा पनि हुन्छ, आलोचना पनि सहनुपर्छ । कामै नगर्नेहरु कहाँ असफल हुन्छन्, कहाँ सफल हुन्छन् । कामै नगर्नेको न चर्चा, न आलोचना ।
असफलता र आलोचनासंग डराएर त अहिले पद र शक्तिमा हुनेहरु पदीय दायित्व निर्वाह गर्न आनाकानी गर्छन्, शक्ति सदुपयोग गर्न डराउँछन् । नियमित कामबाहेक थप बोझ बोकेर, थप चुनौति सामना गरेर कुनै काम गर्न तत्पर हुँदैनन् ।
निर्माण व्यवसायीको प्राय आलोचना हुने गर्छ किनभने उनीहरु काम गर्ने फ्रन्टलाइनमा हुन्छन् । चुनौति सामना गरी अतिरिक्त शक्ति प्रयोग गरी काम गर्ने निर्माण व्यवसायी काम सम्पन्न गर्न सफल हुन्छन् ।
जोखिम मोल्न नचाहने, चुनौतिसंग सिगौँरी खेल्न आनाकानी गर्नेहरु काममा असफल हुन्छन् । अनि निर्धारित काम निर्धारित समयमा सम्पन्न गर्न सक्दैनन् । त्यसपछि सुरु हुन्छ आलोचना । काम नगर्ने त आलोचनाका पात्र भैगए, जससले काम गर्छ, उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । काम गर्नेलाई हौसला प्रदान गरियो भने उ स्वयं पनि प्रखर बन्दै जान्छ, उसलाई देखेर अरु पनि कामप्रति हौसिन्छन् ।
त्यसैले काम गर्नेहरुलाई हौसला प्रदान गर्न कञ्जुस्याईँ गर्नुहुदैन । शहिद लखन गाउँपालिका वडा नम्वर ७ ले यसको थालनी गरेको छ । निर्धारित काम निर्धारित समयमै सम्पन्न गर्ने केही उपभोक्ता समितिहरुलाई सो वडाले सम्मानित गरेको छ । वनकाली गरन्जागाउँ हुदैं सुसारे गाउँ सडक स्तरोन्नती योजना सम्पन्न गर्ने उपभोक्ता समिति र मास्कीछाप भुपु सैनिक ट्रस्ट भवन निर्माण योजना यथासमयमै सम्पन्न गर्ने उपभोक्ता समितिलाई वडा अध्यक्ष शरण श्रेष्ठले सम्मानित गरेका हुन् । ती निर्माण व्यवसायी वा उपभोक्ता समिति त प्रसंसाका पात्र हुने नै भए, काम सम्पन्न गर्न हौसला दिने वडाअध्यक्षको नेतृत्व पनि प्रसंसनीय छ ।




