
समयमै योजना सम्पन्न गर्ने शहिद लखन–७ का उपभोक्ता समिति सम्मानित
शहिद लखन गाउँपालिका वडा नम्वर ७ का योजना समयमै सम्पन्न गर्ने उपभोक्ता समितिहरु सम्मानित भएका छन् । वनकाली गरन्जागाउँ हुदैं सुसारे गाउँ सडक स्तरोन्नती योजना उपभोक्ता समिति र मास्कीछाप भुपु सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समिति सम्मानित भएका हुन् ।
बिहिवार वडा नम्वर ७ मा संचालित चालु आर्थिक बर्ष २०८१/८२ का योजनाहरुको अर्धवार्षिक समिक्षा कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । ‘संघ र प्रदेश सरकारले आर्थिक बर्षको अन्ततिर हतार हतार योजना सम्झौता गर्ने अनि काम सुरु गर्ने प्रवृति छ,’ उनले भने, ‘यस्तो प्रवृतिलाई निरुत्साहित गर्दै समयमै काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेका हौँ ।’
सम्मानित भएका उपभोक्ता समितिहरुले योजना सम्पन्न गरेर भुक्तानी समेत लिइसकेका छन् । उनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा चालु आव कुल १९ वटा योजना छन् । जसमध्ये १४ वटा योजना उपभोक्ता समिति मार्फत गर्नुपर्ने बताइएको छ । ‘हालसम्म दुई योजना सम्पन्न भएर भुक्तानी समेत भइसक्यो, चार योजना सम्पन्नको अन्तिम तयारीमा छन्, बाँकी सबै सम्झौता भएर काम अघि बढिसक्यो,’ श्रेष्ठले भने ।
गत बर्षबाट उपभोक्ता समितिलाई सम्मान कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए । उनका अनुसार गत आर्थिकवर्षमा पनि दुई वटा उपभोक्ता समिति सम्मानित भएका थिए । गत आव चैत्रमहिनामा सहिदलखन गाउँपालिका वडा नं. ७ का सबै योजना सम्पन्न भएको बताइएको छ ।




