| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा यो वर्ष साढे चार प्रतिशतले धान उत्पादन घट्यो

गोरखामा यो वर्ष साढे चार प्रतिशतले वर्षे धानको उत्पादन घटेको छ । गत वर्ष ४० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ३९ हजार ९०० मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र गोरखाको भनाई छ ।

गत वर्ष १० हजार १४० हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकोमा यो वर्ष क्षेत्रफल बढाएर १० हजार ५०० हेक्टरमा धान लगाइएकोमा उत्पादन भने घटेको केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले बताए । ‘गत वर्षको तुलनामा यो वर्ष बढी क्षेत्रफलमा धान लगाइएको थियो तर उत्पादन भने घटेको अवस्था छ’, उनले भने, ‘यो वर्ष पोहोरको भन्दा भन्डै साढे चार प्रतिशतले उत्पादन घटेको छ ।’

राते रोग (जिङ्क डिफिसियन्सी) र वाला नलाग्ने समस्याका कारण पोहोरको भन्दा झन्डै २ प्रतिशतले उत्पादन घटेको उनले बताए । यस्तै, अबिरल वर्ष र कात्तिमा परेको बेमौसमी वर्षका कारण १.५ प्रतिशत र धानमा लाग्ने गवारो र फड्के किराको समस्याका कारण झन्डै २ प्रतिशतले उत्पादन घटेको उनले जानकारी दिए ।

केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै ११ हजार २६६ हेक्टर क्षेत्रफलमा ४३ हजार १७५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस यता धान उत्पादन वर्षेनी घट्दो अवस्थामा रहेको देखिन्छ । विभिन्न रोग किरासँगै उन्नत बिउ र मलखादको कमीका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

‘धानको २५ प्रतिशत उत्पादन बिउँमा निर्भर हुन्छ, जिल्लाको हकमा उन्नत बिउको कमी रहेको देखिन्छ’, केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले भने, ‘यहाँका किसानहरुले भारतबाट ल्याएको कमशल बिउँको प्रयोग गर्दै आएको अवस्था छ । यस्तै, मलको अभावले पनि उत्पादनलाई असर पु¥याएको छ ।’ केन्द्रले चालु आर्थिक वर्ष उन्नत बिउँ र मलखादको कार्यक्रमहरुलाई प्राथामिकतामा राखेर काम गरिरहेको उनले बताएका छन् ।

गोरखाको छेवेटार, भुसुण्डेफाँट, पालुङटार, ज्यादुलखोला, आरुघाट, घ्याल्चोक, सिरानचोक, घ्याम्पेशाल लगायतका ठाउँमा धान धेरै उत्पादन हुन्छ भने तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री र धार्चे गाउँपालिकामा धान उत्पादन हुँदैन । केही लोकल र अधिकासं बिकासे जातको धान किसानले लगाउने गरेका छन् ।सावित्री, रामधान, सुख्खा सिरिज १, २, ३, यूएस ३१२, च्याम्पिएन लगायतका जातका बर्षे धान किसानले लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्