| सोमवार, कार्तिक २३, २०८३

मुख्य अभियुक्त पक्राउ गर्नेहरु साधुवादको पात्र

जब बारपाकको जंगलमा सुचिना घलेको हत्या भयो, त्यसदिनदेखि उनको माइतीगाउँ काशिगाउँका बासिन्दा सदरमुका ओइरिए । एकसातादेखि सदरमुकाममा सयौंको संख्यामा रहेका काशिगाउँलेले जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुखलाई निरन्तर अपराधी पत्ता लगाउन दबाब दिइरहे । अपराधी पत्ता लगाउनु पर्ने प्रहरीमाथि दायित्वको दबाब यसै थियो, पिडितहरुको आक्रोश साम्य गराउन पनि छिटोभन्दा छिटो पत्ता लगाउनु पर्ने बाध्यता थियो ।

आक्रोशमा रहेका काशिगाउँ तथा अन्य गाउँका बासिन्दाले पनि बारपाकमा अप्रिय घटना भएकाले बारपाक र बारपाकीप्रति पनि आक्रोश पोखिरहन्थे । आफ्नो गाउँप्रति निरन्तरको प्रहारले बारपाकबासीलाई पनि अपराधी जतिसक्दो चाँडो पक्राउ गर्न सघाउनुपर्ने दबाब थियो । प्रहरीले रातदिन नखाई, नसुती अपराध अनुसन्धानको काम तिब्र बनायो । बारपाकका बासिन्दाले पनि आन्तरिक रणनीति बनाएर होस् वा प्रहरीलाई साथ र सहयोग गरेर होस्, अपराध अनुसन्धानमा लागिरहे ।

अन्ततः प्रहरी कसुरवालालाई पक्राउ गर्न सफल भयो । कसुरवालाले आफ्नो गल्ती स्वीकार गरिसकेको अबस्था छ । अब उनीविरुद्ध मुद्दा दर्ता पनि भइसकेको छ । अझै अनुसन्धान समाप्त भएको छैन । मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । मुख्य दोषी पक्राउ परेपछि अहिले पिडित पक्ष(बारपाकबासी र काशिगाउँबासी)को आक्रोश केही हदसम्म भने पनि साम्य भएको छ । अझै बाँकी रहेको सत्यतथ्य पत्ता लगाउन उनीहरुको आग्रह छ ।

उनीहरुको असाध्यै सालिन आग्रह छ कि, सत्यतथ्य पत्ता लगाउनबाहेक आफूहरुको केही चाहना छैन । जतिसक्दो चाँडो सम्पूर्ण सत्यतथ्य अनुसन्धान गरी यथार्थ सार्वजनिक गर्नुपर्छ भन्ने उनीहरुको भनाइ छ । अपराध अनुसन्धानको लगभग अन्तिम चरणमा पुगेको प्रहरीको खटाइप्रति काशिगाउँ र आसपासका गाउँका बासिन्दाहरुले साधुवाद दिएका छन् । प्रहरीले पनि अपराध अनुसन्धानमा आफूहरुलाई सम्पूर्ण रुपमा सहयोग गर्ने बारपाकबासीमाथि कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्