
गोरखामा नागरिक संवाद गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइयो
७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मंगलबार, जिल्लामा पनि नागरिक संवाद कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज गोरखाको आयोजनामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा युवा दुरुपयोगको खतरा विषयक नागरिक संवाद गरेर दिवस मनाइएको शान्ति समाज गोरखाकी निवर्तमान अध्यक्ष गोमा दवाडीले बताइन् ।
संवाद कार्यक्रममा मानव अधिकार अन्तरगत रोजगारीको अधिकार, बढ्दो युवा पलायन, सैन्य प्रयोजनमा प्रयोग हुने खतरा लगायतका विषयमा छलफल भएको उनले जानकारी दिइन् । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले युवा पलायनका कारण अहिले नेपालीको दिनचर्या नै परिवर्तन भएको बताएका थिए । हरघरमा वृद्धवृद्धा र बालबालिका मात्र रहेको, युवाहरु सबै विदेश पलायनको अबस्था रहेको उनले बताएका थिए ।
नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी सरकारले लिएको भए यो अबस्था नआउने उनले बताएका थिए । दुई दम्पत्तिबाट एक मात्र सन्तान जन्मँदा यसै पनि जनसंख्या घट्दो क्रममा रहेको, त्यही एक सन्तान पनि वैदेशिक रोजगारीमा गएपछि मुलुक युवाविहिन बनेको उनको भनाइ थियो । यो समस्या समाधानका लागि सरकारले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी लिने नीति बनाउनु पर्ने उनको भनाइ थियो ।
एकिकरण नेपालको समन्वय र शान्ति समाज गोरखाका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारी, पूर्व अध्यक्ष यदु अधिकारी, निवर्तमान अध्यक्ष गोमा दुवाडी, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा, पत्रकार महासंघका मोहसिन अलि मियाँ, गोरखा नगरपालिकाका विजयभक्त तिवारी, पत्रकार शिव उप्रेती, विनोद अर्याललगायतले धारणा राखेका थिए ।




