
विकासको काम अवरुद्ध नहोओस्
विकसित मुलुकहरुको प्रमुख विकास भौतिक पूर्वाधार विकास होइन, यान्त्रिक, अनुसन्धान, आविष्कार, नयाँनयाँ प्रयोगका विकासहरु हुनसक्छन् । तर आजसम्म नेपालको प्रमुख अभिष्ट भौतिक पूर्वाधार निर्माण नै हो । यो माग र चाहना अझै कयौँ बर्षपछिसम्म पनि रहनेछ ।
गोरखामा चालु आर्थिकबर्ष विभिन्नवटा सडकखण्ड कालोपत्रेको काम अघि बढ्दै छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कयभन्ज्याङ भीमसेन थापा वडा नम्वर ४ र २ जोड्ने सडक कालोपत्रेको काम अघि बढेको हो ।
यी चारैवटा सडक गोरखा सडक योजना कार्यालयले कालोपत्रेको तयारी गरिरहेको हो । प्रदेश सरकारले पनि अरु धेरै सडकहरु कालोपत्रेको काम अघि बढाइरहेको छ । रामशाहघाट मनकामना खण्डमा तीन किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर खण्डको पनि तीन किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो ।
बिमलनगर मौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडकलाई दुई खण्ड बनाएर कालोपत्रे गर्न लागिएको छ । स्तरोन्नती गर्ने खण्डको बारेमा विवाद भएपछि भण्डारथोक हुदैँ वयापानी जोड्ने र ठाटीपोखरी मगरगाउँ पानी ट्यांकी हुदैँ डुम्रिडाँडा जोड्ने दुवै खण्डलाई स्तरोन्नती गरिँदैछ ।
दुवै खण्डको २.५/२.५ किमी गरी कुल ५ किमी सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको हो । त्यस्तै, धावा कोयाभन्ज्याङ भीमसेन थापा वडा नम्वर ४ र २ जोड्ने खण्डको तीन किमी सडक कालोपत्रे हुने भएको छ । अँबुवा, बिर्दी, सेरा, पौवाटार सडक पनि कालोपत्रेका लागि पूर्वाधार तयार हुँदैछ ।
अघिल्ला बर्षहरुमा ठेक्का सम्झौता भएर बसेका स्तरोन्नतिको योजना पनि यसबर्ष कार्यान्वयन होओस् । सर्वसाधारण जनताको आवश्यकता अनुसार स्तरोन्नति हुन लागेका यी सडकको काम नरोकियो, जनताको चाहनामा ठेस नलागोस् ।




