| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा महिलावादी अनुपम अभियान यात्रा

देशव्यापी आयोजना गरिएको महिलावादी अनुपम अभियान यात्रा सोमबार गोरखामा पनि सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा एकिकरण नेपालको संयोजनमा अभियान सम्पन्न गरिएको हो । गोरखा प्रवेशद्वार मझुवास्थित गोरखागेटबाट सुरु भएको अनुपम अभियान यात्रा गोरखा सदरमुकाम आएर समापन भएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

अभियान अन्तर्गत गोरखा नगरपालिकाभित्रका गोरखकाली रबर उद्योग, दश किलो बजार, विरेनचोक, बाह्रकिलो, लक्ष्मीबजार र सदरमुकामको बसपार्कमा कोणसभा गरिएको उनले बताए । महिलाहरुलाई सशक्तिकरण गराई राजनीतिक क्षेत्रमा हुने सहभागितालाई वृद्धि गराउन अन्तरपुस्ता महिलावादी मञ्चले २०८० देखि २०८४ सम्मका लागि अभियानको सुरुवात गरिएको उनले जानकारी दिए । अभियानको यो दोस्रो वर्ष हो ।

५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य एउटा न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउनु रहेको देवकोटाले बताए । अभियानमार्फत पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउने र आत्मसम्मान र आत्मनिर्भता बढाउने रहेको बताएको छ ।

महिलासँग सम्बन्धित बिषय भएकाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसर पारेर कार्यक्रम गरिएको उनले बताए । अभियानमा जिल्ला समन्वय समितीकी उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, वडा नं. १३ की वडाध्यक्ष मित्रा परियार, गोरखा नगरपालिकाकी पूर्व उपप्रमुख विना श्रेष्ठ, मिना श्रेष्ठ, पार्वती पाठक, सकुन्तला खत्री, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, मानव अधिकारकर्मी यदु अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्