
आरुघाट अस्पतालमा टिकटमा टोकन प्रणाली
आरुघाट आधारभूत अस्पतालले टिकटमा टोकन प्रणाली लागू गरेको छ । टिकटका लागि बिरामीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै टोकन प्रणाली लागू गरिएको पालिका स्वास्थ्य शाखाले जनाएको छ ।
‘टिकटका लागि धेरै बेर लाइनमै उभिनुपर्ने बाध्यता बिरामीलाई भयो, फेरी अशक्त वृद्धवृद्धा दिर्घरोगीलाई निकै समस्या,’ स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले भने, ‘टोकन प्रणाली भएपछि लाइनमा उभिराख्नु परेन, आफ्नो पालो आएपछि मात्र गए भयो ।’ कम्प्युटरबाट बिलिङ प्रणाली पनि थालिएको उनले जानकारी दिए ।
उक्त प्रणालीको आइतवार एक कार्यक्रमकाबीच प्र्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले शुभारम्भ गरेका हुन् ।
अस्पतालबाट हाल अत्याधुनिक प्रविधियुक्त मेसिनबाट भिडियो एक्स–रे र एक्स–रे सेवासँगै अत्याधुनिक ल्याव सेवा संचालनमा रहेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।
पालिकावासीका लागि निशुल्क आधारभूत स्वास्थ्य सेवा दिने तयारी भइरहेको उनले जानकारी दिए । अस्पतालमा दैनिक दुई सयका दरले बिरामी हुने गरेको बताइएको छ ।




