| बुधबार, असार ९, २०८३

तुलसीमान श्रेष्ठ सम्मान पुरस्कार लोकगायक राजु परियारलाई

दरौंदी पत्रिकाका संस्थापक सम्पादक तुलसीमान श्रेष्ठको नाममा स्थापित लोकसाहित्य सम्मानबाट लोकगायक राजु परियार सम्मानित भएका छन् । तुलसीमान श्रेष्ठ स्मृति समाजले गत शनिबार काठमाडौँमा विशेष कार्यक्रम गरेर गायक परियारलाई सम्मानित गरेको हो ।

गायक परियारलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले सम्मानस्वरुप सम्मान पत्र र २५ हजार रुपैयाँ गायक परियारलाई प्रदान गरेका हुन् । सम्मानपछि गायक परियारले नेपालका होनाहार श्रष्टाहरुको हाराहारीमा आफूलाई राखेर गरिएको सम्मानले लोकगीत र गायनको क्षेत्रमा नयाँ काम गर्ने अभिभारा आएको बताए । गायक परियारले तुलसीमान श्रेष्ठका अन्वेषण र पुस्तकहरुबाट आफूले नयाँ लोक श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सांसदद्वय कमला पन्त र किरणबाबु श्रेष्ठले स्वर्गीय तुलसीमान श्रेष्ठले शैक्षिक, राजनीतिक र लोक साहित्यको क्षेत्रबाट उल्लेख्य योगदानबारे चर्चा गरेका थिए । यसैगरी, नेपाली काँग्रेसका युवा नेता एवं पालुङटार नगरपालिकाका पूर्व मेयर दिपकबाबु कँडेलले तुलसीमान श्रेष्ठ लोक साहित्यका अतिरिक्त एक असल समाजसेवी भएको स्मरण गरे ।

स्वर्गीय श्रेष्ठका छोरा डा. निरजमान श्रेष्ठले लोक साहित्यसँग जोडिएका सर्जकहरुलाई हरेकबर्ष गरिने सम्मानले लोक साहित्यको क्षेत्रमा केही न केही योगदान पुग्ने र यसले आफ्नो बुबाको इच्छा र सपनालाई केही हदसम्म भनेपनि साकार पार्ने विश्वास व्यक्त गरेका थिए ।

हजारौँ लोक गीत गाएर चर्चा कमाउनु भएका परियार लोक दोहोरीको क्षेत्रमा सालिन व्यक्तित्वको रुपमा परिचित छन् । लम्जुङ बेशीशहरमा जन्मिएका परियारका चर्चित गीतहरु सुनपानीले छर्क मायालु, मिर्मिरेको घाम, लम्जुङ जाने दाइ, रुमाल धोको छु लगायतका हजारौँ गीतहरु छन् ।

शैक्षिक, राजनीतिक र लोक साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका स्वर्र्गीय तुलसीमान श्रेष्ठको नामबाट यो सम्मान स्थापना भएको हो । यो सम्मानबाट विसं २०७५ देखि लगातार लोकगीत र लोकगायन तर्फका चर्चित व्यक्तित्वहरु सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्