| मङ्लबार, कार्तिक २४, २०८३

सहिदलखनको नक्कली सिफारिस बनाएर चन्दा माग्दै हिँड्नेहरु पक्राउ

सहिदलखन गाउँपालिकाको लेटरप्याड प्रयोग गरी सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ५ खलकटोल बकुलिया बस्ने १९ वर्षीय अजय बैद्य र १८ वर्षीय जितेन्द्र बैद्यलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।

सहिदलखन गाउँपालिका मनकामना गोरखा, गण्डकी प्रदेश लेखिएको नक्कली लेटरप्याडमा लेखिएको सिफारिसका आधारमा रकम माग्दै गरेको अवस्थामा उनीहरुलाई खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ बाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट किप्याड फोन, चार्जर र १७ हजार ७६० रुपैँया नगद बरामद भएको छ । उनीहरुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सहिदलखन गाउँपालिकाले पनि यस विषयप्रति आफुहरुको गम्भीर ध्यानाकषर्ण भएको बताएको छ । ‘यसअघि पनि हाम्रो पालिकाको नक्कली कागजात बनाई आर्थिक सहयोग माग्दै हिँडेको भन्ने जानकारी पाएका थियौँ, फेरि यस्तै घटना दोहोरिएको छ’, उनले भने, ‘हामीले कसैलाई पनि आर्थिक सहयोग गरिदेउ भनेर प्रमाणपत्र दिएका छैनौँ । यदि कसैले यस्ता व्यक्तिहरु फेला पारे नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्