
पाँचौ गण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधी विजयभवानी माविलाई
गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी विजयभवानी माविले हात पारेको छ । गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ८ स्वर्ण २ रजत र १ कास्य गरी कुल ११ पदक हात पर्दै विजयभवानी मावि प्रतियोगिताको उपाधी बिजेता बनेको हो ।
यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल १२ पदक सहित सुर्यादय मावि दोस्रो बनेको छ भने ३ स्वर्ण, ७ रजत र १ कास्य गरी ११ पदक सहित ज्ञानमार्ग मावि तेस्रो बनेको छ । प्रतियोगिताका बिजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सन्तोष विश्वकर्माले बताए ।
प्रतियोगितामा कुल ४ स्वर्ण र १ रजत पदक हात पार्दै विजय भवानी माविका प्रवीण श्रेष्ठ सर्वोत्कृष्ट छात्र हुन सफल भएका छन् । यस्तै, ६ वटा स्वर्ण पदक हात पार्दै सुर्योदय माविकी सुजिता खनाल सर्वोत्कृष्ट छात्रा बनेकी छिन् । उनीहरुले जनही ५० हजारका दरले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाले जनाएको छ ।
प्रतियोगितामा छात्रा र छात्र दुवैतर्फको भलिबल खेलमा सुर्योदय मावि प्रथम भएको छ । बिजेताहरुलाई गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थिए । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने पालिकाले जनाएको छ ।




