| मङ्लबार, कार्तिक २४, २०८३

अन्तरजातीय विवाह गर्नेहरु स्थानीय सरकारबाट सम्मानित

प्रतिक्षा आले मगर ।
अन्तरजातीय विवाह गर्नेहरुलाई भीमसेनथापा गाउँपालिकाले सम्मान गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर पालिकाले अन्तरजातीय विवाह गर्ने ३६ जोडीलाई सम्मान गरेको हो । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षबाट अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरिएको पालिकाकी सामाजिक शाखाकी कल्पना दवाडीले जानकारी दिइन् ।

जातीय विभेद र छुवाछुत अन्त्य गर्ने उद्देश्यका साथ सम्मान गरिएको उनले जानकारी दिइन् । ‘मंगलबार बिहान पालिका भवन वरपरका क्षेत्रहरुमा प्रभातफेरी कार्यक्रम ग¥यौँ । त्यसपछि पालिकाभरका दलित अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरेका हौँ’, उनले भनिन् ।

‘सम्मान भएका सबैजसो जोडीहरु नवविवाहित् हुन्’, उनले भनिन्, ‘घरपरिवारले स्वीकार नगरेको अवस्थामा पालिकाले सम्मान गर्दा उनीहरु निकै खुसी भएका छन् ।’ दलितबाहेक अन्य समुदायका अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्न सम्भव नभएकाले दलित अन्तरजातीय विवाहलाई मात्र प्राथमिकतामा राखेर कार्यक्रम गरिएको उनको भनाई छ ।

पालिकाको सामाजिक बिकास समितिका प्रमुख एवं भिमसेनथापा गाउँपालिका वडा नं ८ का अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा पालिका अध्यक्ष लोक प्रसाद बञ्जरा, उपाध्यक्ष अमृता देवी वस्ती, पालिकाको सामाजिक शाखा प्रमुख रुल बहादुर आले लगायतले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

साथै, मंगलबार पालिकाले ‘टोल सुधार अभिमुखीकरण’ कार्यक्रम समेत आयोजना गरेका थियो । पालिकाभित्रका टोल सुधार समितिहरुलाई सक्षम बनाउने उदेश्य सहित कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्