| शनिबार, कार्तिक २१, २०८३

पहिले नै तर्सेर बिआरआई लिनै हुन्न, हुँदै हुन्न भन्नु हुन्न: भट्टराई

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशको हितमा हुनेगरी बिआरआईको समर्थन गर्नुपर्ने तर्क गरेका छन् । सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा डाक्टर भट्टराईले देशको हितमा हुने अनुदानका कार्यक्रम अघि बढाउनुपर्ने बिचार व्यक्त गरेका हुन् ।
‘नेपाल विश्वका उदीयमान दुई ठूला शक्ति चीन र भारतको बीचमा रहेको र विश्वमहाशक्ति अमेरिकाले पनि चासो राख्ने क्षेत्र भएको हुनाले यी सबैशक्तिहरुसंग सन्तुलित मित्रवत सम्बन्ध राख्नुपर्छ’, उनले भने, ‘हामी अहिले अल्पविकसित अवस्थामा छौँ । विकासका निम्ति हामीले विदेशी पुँजी, प्रविधि, ज्ञान, सद्भावसंगसंगै व्यापारको आवश्यकता छ । त्यसका निम्ति हामीले जसरी भारत, अमेरिकालगायतसंग सहयोग लिँदै आएका छौँ, त्यसरी नै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई)का पनि नेपालको हितअनुकूलका पक्षलाई ग्रहण गरेर हामीले आफ्ना विकासलाई अघि बढाउनु पर्छ, मेरो कुरो यही हो ।’ अनुदान परियोजनाहरु स्वीकार गर्नु हितकर हुने उनले बताए ।
‘सहयोगका परियोजना सञ्चालन गर्दा पनि जसले पनि आफ्नो देशको हितका लागि नै गर्ने हुन्छन् । दान, दक्षिणा, उपकार, परोपकारका लागिमात्र त कसैले पनि गर्दैन । तर कतिपय अवस्थामाचाहिँ आफ्ना रणनीतिक स्वार्थ भएका ठाउँहरुमा सञ्चालन हुने गरी उनीहरुले अनुदान मात्र पनि दिने गर्छन्’, डाक्टर भट्टराईले भने, ‘जसरी अमेरिकाले रणनीतिक स्वार्थअनुकूलको भए पनि एमसीसी भनेर अनुदान त दिएको हो नि । स्वार्थ जसको पनि हुन्छ । बिआरआईमा पनि ऋण पनि छ, अनुदान पनि छ । हाम्रो आवश्यकता के हो, हाम्रो प्राथमिकता के हो भन्ने आधारमा छनोट गरेर राष्ट्रिय हितमा हुने गरी बिआरआई स्वीकार गर्नुपर्छ ।’ पहिले नै तर्सेर लिनै हुन्न, हुँदैहुन्न भन्न नहुने आफ्नो स्पष्ट धारणा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्