| सोमवार, कार्तिक २३, २०८३

भैलोको रकम सामाजिक काममा लगाउने नमूनायोग्य काम

डिजिटल देउसी भैलोमा रम्ने प्रचलनले तिहारका बेला देउसी भैलो खेल्ने संस्कृति हराउँदै जानु दुखद छ । तैपनि कहीँ कतै युवाहरु भेला भई देउसीभैलो खेल्ने गर्छन् । संस्कृति जगाउने सोखले खेलेको देउसी भैलोको रकम वनभोजमा खर्च गर्ने पुरानो चलनमा अलिअलि समयसापेक्ष सुसंस्कृत हुँदैछ ।
गोरखा नगरपालिका ७ डण्डीडाँडा क्षेत्रमा क्रियाशील युनाइटेड सेभेन युथ क्लव गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकम विद्यार्थीहरुलाई शैक्षिक सामाग्री किनेर वितरण गरेको छ । क्लवले गोरखा नगरपालिका–७ डण्डीडाँडा स्थित नवज्योती माविमा अध्यनरत ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
सामुदायिक विद्यालय पढ्ने निम्नबर्गका बालबालिकालाई पठपाठनमा सहजताका लागि युनाइटेड युथ क्लवले देउसीभैलोबाट रकम जम्मा गरी सहयोग गरेको हो ।
त्यस्तै केही दिनअघि गोरखा नगरपालिका भाङबारी, सतिपिपल क्षेत्रका स्थानीयबासीले देउसी भैलो खेलेको रकमले सोही क्षेत्रमा पर्ने बालमन्दिर माविमा सहयोग गरेको थियो । बालमन्दिर माविद्वारा सञ्चालित होस्टलमा बस्ने अनाथ बालबालिकालाई चामल, नून, तेल, विस्कुट लगायतका सामग्री वितरण गरेका हुन् । सोही टोलीमध्यका एक श्यामकुमार गुरुङले पाँचहजार रुपैयाँ नगद पनि सहयोग गरेका थिए ।
त्यस्तै तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट लियो क्लव अफ गोरखाले पालुङटार नगरपालिका ८ दुभारस्थित दुभार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको थियो ।
त्यस्त उहियाको कृषक आमासमूहले पनि तिहारका बेला देउसी भैलो खेलेको रकम संकलन गरी खेती किसानी गर्ने कृषि औजार खरिद गर्ने निर्णय गरेको छ । त्यहाँका कृषक आमा समूहले मार्सी धान लगायतका रैथाने बाली जगेर्ना गर्ने उद्देश्यसहित विभिन्न सामुहिक खेती गरेको छ ।
यसरी खाईपिई गरेर पैसा खर्च गर्नुभन्दा संस्कृति पनि जगेर्ना हुने, समाजका विभिन्न निकायमा टेवा पनि पुग्ने काम गर्नु अत्युत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्