
उद्योग दिवसका अवसरमा गोरखाका चार उद्यमी सम्मानित
१० औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका चारजना उद्यमीहरु सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय गोरखाले राष्ट्रिय उद्योग दिवसको अवसर पारेर आईतबार जिल्लाका चार उद्यमीहरुलाई सम्मान गरेको हो ।
कार्यालयका अनुसार गोरखा सदरमुकाम स्थित पहिरन लेडिज टेलर्स तथा प्रशिक्षण केन्द्रकी रोजिना श्रेष्ठ, सिताराम झोला कारखानाका सिताराम नेपाली, आकृति मेटल उद्योगका ताराबहादुर बानियाँ र अजिरकोट गाउँपालिका–३ स्थित कुसुम ठेकी तथा मादलको घार उद्योगका संचालक दिपक विक सम्मानित भएका हुन् ।
रोजगारी सिर्जना गरेको र व्यवसाय राम्रो भएको आधारमा उनीहरुलाई सम्मान गरेको पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीले बताए ।
नेपालीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा समन्वय समितकी उपप्रमुख लिला परियार, समन्वय समितिका अधिकारी, उद्योग वाणिज्य संघ, चेम्बर, महिला उद्यमी संघ लगायतको उपस्थिति रहेको थियो ।




