
सोती–पाङ्सिङ सडकखण्डमा अवैध पठाओको बिगबिगी
भर्खर–भर्खर सडक सञ्जालले छोएको माछाखोला पाङ्सिङ खण्डमा बिना दर्ताका पठाओ सेवा (मोटरसाइकल) सञ्चालनमा छ । ३० किलोमिटर खण्डमा करिब ६० वटा पठाओ (मोटरसाइकल) चल्ने गरेका छन् ।
सबैभन्दा धेरै माछाखोलाबाट पठाओ सेवा सञ्चालनमा छ । त्यस्तै सोती, खोर्लावेशीबाट पनि पठाओ चल्ने गरेको छ । पाङसिङदेखिका यात्रु बोकेर मोटरसाइकलवालाले काठमाडौँसम्म पठाओ सेवा दिने स्थानीयबासी बताउँछन् । विना दर्ताका यी पठाओ सेवाले कुनै निकायमा पनि राजस्व तिर्ने गरेका छैनन् ।
बस तथा जीपसमेत चल्ने सो सडकखण्डमा पठाओ सेवाले चर्को भाडा लिएर यात्रु ओसार्ने गरेको स्थानीयको गुनासो छ । जीपको भन्दा झण्डै तेब्बर बढी भाडा लिएर यात्रु ओसार्ने गरेको यात्रुहरुको भनाइ छ ।
‘माछाखोलादेखि पाङसिङसम्म सेवा दिएबापत जीपले एक हजार रुपैयाँ लिन्छ भने पठाओले तीन हजार लिने गरेको छ’, एक यात्रु भन्छन्, ‘माछाखोलादेखि जगतसम्म चलेको जीपले सातसय रुपैया लिन्छ भने पठाओले दुई हजार लिने गरेका छन् ।’ सेवा पाएपछि दररेटमा ‘बार्गेनिङ’ नगर्ने दुर्गम भेगका निमुखाहरु ठगिने गरेको उनको भनाइ छ । बेनिघाट, आरुघाट लार्के सडकको माछाखोला सम्म बर्खाका चार महिनाबाहेकका दिनहरुमा बस र जीप सेवा सञ्चालनमा छ ।
त्यहाँभन्दा माथि पाङसिङसम्म जीपले सेवा दिइरहेको छ । बस र जीपले सेवा दिए पनि यो सडकमा मोटरसाइकलले पठाओ सेवा दिने गरेको छ । पठाओले बर्खाका बेला पनि सेवा दिने गरेको स्थानीयको भनाइ छ ।
‘पठाओले दुर्गमका निमुखा जनतालाई ठग्नुसम्म ठगेको छ तर के गर्नु, यात्रु रहरले पठाओ चढेका होइनन्, बाध्य भएर चढेका हुन्’, जगतका गणेश कार्की भन्छन्, ‘सरकारले दुर्गमका जनता मरे मर्, बाँचे बाँच् भनेर वास्तै गर्दैन । बर्खाका बेला न बस चल्छ, न जीप । धन्न पठाओले जोखिम मलेर भएपनि सेवा दिएका छन् । कच्ची बाटोमा हप्ता हप्तामा बाइक बिग्रिँदो रहेछ ।
बनाउनु पर्दा एकै पटकमा ४० हजार, ५० हजारसम्म खर्च हुन्छ भन्छन् ।
अबैध रुपमा चलेको पठाओले मान्छे ठगे पनि छिटो गन्तब्यमा पुग्नुपर्ने दुर्गमका मान्छेलाई सजिलो भएको छ ।’ रातो नंबरप्लेटको कार, जीप र बाइकले भाडा असुलेर यात्रु बोक्ने बिषय विधि, प्रक्रिया विपरीतका कार्य हुन् । यसप्रति नियमन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी मौन छ । ‘त्यस क्षेत्रमा अवैध रुपमा पठाओ सेवा चलिरहेको भन्ने जानकारी त हामीलाई पनि छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तारापति अर्याल भन्छन्, ‘त्यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ ।
त्यसका लागि हामी प्रयास गर्नेछौँ ।’ यस्ता कार्य नियन्त्रण गर्न स्थानीय सरकारले पनि साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।




