
भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने
भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । यही मंसिर ११ गते एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
‘बिशेष गरी पालिकाभित्रका दलित र गैरदलित बीच विवाह गर्ने जोडीलाई सम्मान गर्न लागेका हौँ,’ उनले भने, ‘त्यस्ता जोडीहरुको विवरण संकलनको काम भइरहेको छ ।’ जातीय छुवाछुत र भेदभाव अन्त्य गर्ने मुख्य लक्ष्य रहेको उनले जानकारी दिए ।
‘कानूनी रुपले जातीय छुवाछुत र भेदभाव गर्न पाइदैन भन्ने छ, तर भित्रभित्रै अदृश्य रुपमा समाजमा भइरहेको छ । त्यसलाई अन्त्य गर्न सम्मान कार्यक्रम राखेका हौँ,’ अधिकारीले भने । अन्तरजातीय विवाह गर्नेहरुलाई प्रोत्साहन गर्दै समाजमा उनीहरुमाथि गरिने व्यवहारमा परिवर्तन गराउने उद्देश्यसमेत रहेको उनले जानकारी गराए ।




