| बुधबार, असार ९, २०८३

चार महिनामा छ हजार बढी विदेशी पर्यटक मनास्लु क्षेत्र पुगे

प्रसिद्ध मनास्लु क्षेत्रमा यो सिजनमा छ हजार भन्दा धेरै विदेशी पर्यटक यात्रा गरेका छन् । गतबर्षको यही समयको तुलनामा ७३७ जनाले वृद्धि भई गत साउन यता छ हजार ४२५ जनाले मनास्लु क्षेत्र भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)ले जनाएको छ ।

तीनहजार छसय २९ पुरुष र दुईहजार सातसय ९५ महिला र एक अन्य गरी छ हजार चारसय २५ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । गतबर्ष यही चार महिनामा जम्मा पाँचहजार ६९२ जना विदेशी पर्यटकले यो क्षेत्रको भ्रमण गरेका थिए ।

मनासलु क्षेत्र भ्रमण गर्न आएका पर्यटकहरु (फोटोः शिव उप्रेती)

यसबर्ष सार्क राष्ट्रका पर्यटक जम्मा ८९ जना र बाँकी पर्यटक सार्कबाहिरबाट आएका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । विदेशी पर्यटकहरुबाट एमक्यापले यो साउन, भदौ, असोज र कात्तिक महिनामा एक करोड ३८ लाख ९२ हजार १९१ रुपैयाँ राजस्व आर्जन गरेको छ । गतबर्ष यही समयमा एमक्यापले ९४ लाख ५५ हजार ३४० रुपैयाँ राजस्व संकलन गरेको थियो । यो साउन महिनामा जम्मा ३८ जना पर्यटक आएका थिए ।

गतबर्षको साउनमा ८० जना आएका थिए । त्यस्तै गतबर्षको भदौमा ५४७ जना आएकामा यो भदौमा ६०० जना, गतबर्षको असोजमा दुईहजार छसय ५४ जना आएकामा यस असोजमा दुईहजार चारसय ४० र गत कात्तिकमा दुईहजार चारसय ११ जना आएकामा यो कात्तिक महिनामा झण्डै एक हजारले बढि तीन हजार ३५१ जना विदेशी पर्यटक यस क्षेत्रमा आएका छन् ।

यसबर्षदेखि विदेशी र स्वदेशी पर्यटकसंग मनास्लु क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिकाले पनि राजस्व संकलन गरेको छ ।
गत असोज १ गतेबाट राजस्व संकलन गर्न सुरु गरेको पालिकाले असोज र कात्तिक दुई महिनामा मात्र ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

दुई महिनामा ५५०० जना विदेशी पर्यटकसंग प्रति व्यक्ति एक हजारका दरले ५५ लाख र ४७९ जना नेपाली पर्यटकसंग जनही दुईसय रुपैयाँका दरले ९५ हजार आठसय रुपैयाँ संकलन गरेको त्यहाँका कर्मचारी विशाल घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्