
गोरखा सदरमुकाममा पर्यटकीय केन्द्र थप गरौँ
पूर्व मेचीदेखि पश्चिम कहाकालीसम्मका विद्यार्थीका लागि अध्ययन भ्रमण गर्ने जिल्लाहरुमध्य प्रमुख हो गोरखा । नेपाल निर्माणको उद्गमस्थल गोरखाको इतिहास अद्वितीय छ । यहाँको थुम्का थुम्काले इतिहास बोल्छ । त्यसैले विद्यार्थी कालमा एक न एक दिन गोरखा भ्रमणमा आउने गर्छन् ।
गोरखा आएका भ्रमणकर्ताले घुम्ने एक दुई भन्दा अरु ठाउँ पाउँदैनन् । गोरखा दरबार, आसपासको गोरखकाली मन्दिर, गोरखनाथ गुफा र गोरखा संग्रहालय भ्रमण गरेपछि उनीहरुले अर्को भ्रमण गर्ने उचित स्थान पाउँदैनन् । यति भ्रमण गर्न दुईदेखि तीन घण्टा बित्छ । त्यसपछि फर्किनुको बिकल्प छैन ।
गोरखामा पर्यटकीय केन्द्र थप्ने सन्दर्भ नभएको होइन । यहाँका हरेक बस्तु ऐतिहासिक, पुरातात्विक छन् । पूर्वाधार तयार गरी प्रचार प्रसार गर्न सके पर्यटक थपिने र उनीहरुले गोरखा घुम्ने समय पनि थपिनेछ । तर यता कसैको ध्यान मन छैन । त्यसका लागि सरकारी र निजी क्षेत्र लाग्नु पर्छ ।
नगरपालिकाले यस बर्ष भ्रमण बर्ष मनाउने खोजिरहेको छ । त्यही सन्दर्भ पारेर गोरखा जिल्ला होटल संघले दुई दिने ऐतिहासिक पर्यटन व्यवसायी मेला–२०८१ आयोजना गर्न लागेको छ । यही मंसिर ५ र ६ गते मेला हुन लागेको हो ।
जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महत्वका स्थल तथा सम्पदाहरुको प्रचार प्रसार तथा प्रबद्र्धन गर्दै पर्यटन बिकासमार्फत समग्र गोरखाको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सदस्यहरु, गृहजिल्ला गोरखा भई देशभरि पर्यटन व्यवसायमा संलग्न भएका व्यक्तिहरुको उपस्थिति रहने छ ।
उनीहरुसंग जिल्लाका प्रमुख ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने, जिल्लाको पर्यटन प्रवद्र्धन मार्फत आन्तरिक आय बृद्धि गर्न सहयोग पु¥याउने, पर्यटकहरुको बसाइ अवधि लम्ब्याई आर्थिक क्षेत्रलाई चलायमान गराउने, मनासलु क्षेत्र जान गोरखा सदरमुकाम भएर जान पहल गर्न उनीहरुको राय मागिनेछ ।




