
सेवाग्राहीको घरघरमै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र
सहिदलखन गाउँपालिका वडा नम्वर ८ ले सेवाग्राहीहरुको घरघरमा पुगेर व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र वितरण सुरु गरेको छ । पालिकाको ‘मृतक परिवारसँग गाउँपालिका’ भन्ने नीति अन्तरगत उक्त कार्य सुरु गरिएको वडाअध्यक्ष बासुदेब ढकालले बताए ।
‘पालिकाको नीति हो तर यसलाई कार्यान्वयन गर्ने हामी पहिलो वडा हौँ’, उनले भने, ‘घटना दर्ता अन्तरगत जन्म र मृत्यु दर्ताको प्रमाणपत्र नागरिकहरुको घरघरमै पु¥याउने काम सुरु गरेका हौँ ।’ घटना दर्ता गर्नका लागि आवश्यक पर्ने कागजातहरु टोलटोलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि मार्फत झिकाएर घटना भएकै दिन सिष्टममा अपडेट गर्ने व्यवस्था मिलाइएको उनले बताए । ‘विषेश गरी मृत्यु भएको अवस्थामा १३ दिन अगावै मृत्यु दर्ताको प्रमाणपत्र बनाई घरमै लगिदिने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘मृत्यु हुनेका ८० प्रतिशत सामाजिक सुरक्षा भत्ता लिने हुनुहुन्छ । ढिलो घटनादर्ता गरी सामाजिक सुरक्षा भत्ता बुझ्ने प्रवृत्तिलाई कम गर्न यो नीति अबलम्बन गरिएको हो ।’ जन्मदर्ताको हकमा पनि जनप्रतिनिधि मार्फत बा–आमाको नागरिकता र अस्पतालको कार्ड मगाई प्रमाणपत्र तयार पारेर घरघरमै पु¥याइने उनले जानकारी दिए ।




