
समस्यामा अन्नपूर्ण सहकारी ः कर्मचारीले काम छाडे, कार्यालय पनि बन्द
प्रतीक्षा आले मगर ।
गोरखा सदरमुकामस्थित ‘अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ समस्याग्रस्त अवस्थामा छ । लगानी गरेको करोडौँ रुपैयाँ कर्जा नउठ्दा संस्था संकटमा फँसेको हो । संस्था धरासायी भएपछि सेयर सदस्यहरुले धमाधम बचत फिर्ता लगिरहेका छन् ।
संस्थामा तनाब हुन थालेपछि कर्मचारीले पनि काम छाडेका छन् भने कार्यालय पनि बन्द रहेको छ । साधारणसभा पनि हुन सकेको छैन ।
बिगत १० बर्षदेखि संस्थाको ओह्रालो यात्रा सुरु भएको संस्थाले जनाएको छ । जथाभावी कर्जा प्रवाह भएको र हिसाबकिताब राख्ने परिपाटी पनि लापार्बाहीपूर्ण भएकाले संस्था संकटमा फँसेको संस्थाले जनाएको छ । सहकारीको विधान विपरीत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले पनि कर्जा लिएको र कतिपय कर्जा कसलाई लगानी गरिएको हो भन्ने अस्तब्यस्त रहेको संस्थाले जनाएको छ ।
‘कमजोरी आजको होइन, १० औँ वर्षदेखिको हो’ संस्थाका व्यवस्थापक यदु पाण्डे भन्छन्, ‘मैले व्यवस्थापकीय जिम्मेवारी सम्हालेको ३ वर्ष भयो । सहकारी यो अवस्थामा आइपुग्नुको प्रमुख कारण यहाँको संचालक समितिको लापरबाही हो ।’ हिसावकिताब राख्दैमा सुरुदेखि नै गलत गरिएकाले सहकारी समस्याग्रस्त अवस्थामा आइपुगेको उनले बताए ।
अन्नपूर्ण सहकारी जिल्लाको पुरानोमध्यको हो । २०५० देखि संचालनमा आएको सहकारीको व्यवस्थापन र अभिलेखीकरणको पाटो अत्यन्त कमजोर भएको संस्थाका व्यवस्थापक पाण्डेले बताए ।
‘ऋण दिँदैमा बिना अध्ययन दिइएको र पछि फलोअप नगरेको अवस्था छ । हाम्रो उठाउन नसकेका ९० प्रतिशत ऋणहरु १० वर्ष पहिलेका छन्’, उनले भने । संस्थाले १६१ जनाबाट १ करोड २७ लाख रुपैँया ऋण उठाउन बाँकी रहेको उनले जनाएका छन् ।
कुनै समय निकै लोकप्रिय बनेको अन्नपुर्ण सहकारीमा उत्तरी गोरखाको ल्हो, बिही, साम्दो लगायत क्षेत्रका बासिन्दाहरु समेत लगानीकर्ताका रुपमा आबद्ध थिए । सहकारी आर्थिक भारमा फँसेपछि आधाभन्दा धेरै सेयर सदस्य र बचतकर्ताले आफ्नो सदस्यता त्याग गरेका छन् । हाल संस्थामा जम्मा ६०० जना सेयर यदस्यहरु मात्र आबद्ध छन् । ती मध्यपनि अधिकांशले आफ्नो सेयर फिर्ता मागेको संस्थाको भनाई छ ।
‘अधिकांशले बचत फिर्ता लगिसके । अब जम्मा ५–७ लाख रुपैँया मात्र बाँकी छ तर यो संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको छ’, व्यवस्थापक पाण्डेले भने, ‘सहकारीको अवस्था नाजुक भयो भनेर कतिपय बचतकर्ताहरु रकम फिर्ता माग्न आउनु हुन्छ, आक्रोसित भएर हामी कर्मचारी माथि अभद्र व्यवहार गर्नुहुन्छ । तर, समितिले यो विषयमा केही बोल्दैन् ।’ समितिको कमजोरी र लेखाको बेथितिका कारण संस्था यो अवस्थामा आइपुगेको उनको आरोप छ ।
संचालक समितिका पदाधिकारीहरु आफैले रकम हिनामिना गरेका कारण सहकारी डुबेको एक सेयर सदस्यले बताए । ‘समितिकै कारण सहकारीको यो अवस्था आएको हो, त्यहाँ हामीजस्ता सयौँ बचतकर्ताहरुको २०–२२ देखि ६०–६५ हजारसम्म बचत रकम छ । अब त्यो रकम त माया मारिदिए जस्तो भयो’, नाम गोप्य राख्न अनुरोध गर्दै एक सेयर सदस्यले भने, ‘धेरै रकम हुने बचतकर्ताहरु त कार्यालयमा आएर भिडियो बनाउने, कर्मचारीहरुलई धाकधम्की दिने समेत गर्नुहुन्छ । त्यसैको डरले तिहार यता कार्यालय बन्दै गरिएको छ ।’ एक वर्षसम्म कर्मचारी आफैले रकम लगानी गरेर संचालन गरेकोमा केही समय यता कर्मचारीहरुले समेत काम गर्न छाडेको उनले बताएका छन् ।
संस्थाले दशैँ यता कुनैपनि आर्थिक कारोबार नगरेको व्यवस्थापक पाण्डेले समेत स्वीकारेका छन् । ‘लगानीकर्ताहरुले आएर पैसा माग्ने, धम्की दिने गरे । कतिपयको पैसा म आफैले लगानी गरेर फिर्ता गरेको छु’, उनले भने, ‘समितिलाई भन्दा सुनुवाई नभएपछि कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।’ सहकारीका कर्मचारी र पदाधिकारीहरुले ऋण लिन नपाउने प्रावधान छ । तर, सो संस्थाको पदाधिकारीहरुको नाउँमा समेत टन्नै ऋण रहेको उनले बताएका छन् । ‘ऋणसँगै धेरै अस्पष्ट रकमहरु छन्, त्यो कस्को नाउँमा जाने हो थाहा छैन्’, उनले भने, ‘म मेरो कार्यकालमा भएका आर्थिक कमजोरीहरुको जिम्मा लिग्न तयार छु । अघिल्लो साथीहरुले पनि आआफ्नो कार्यकालको जिम्मा लिनु पर्छ भन्ने माग मेरो हो ।’ सहकारीले नियमित रुपमा गर्नुपर्ने अधिबेशन र साधारण सभा समेत गर्न नसकेको उनले बताए ।
यता सहकारीका अध्यक्ष बालकृष्ण लामिछानेले भने कार्यालय बन्द नभएको बताएका छन् । ‘बचत फिर्ता गर्न नसकेर मात्र गाह्रो भएको हो । कार्यालय भने बन्द छैन्’, उनले भने, ‘एकजना कर्मचारी हुनुहुन्छ, उहाँले हाल फिल्डमा गएर ऋण उठाउँदै बचत फिर्ता गर्ने काम गरिरहनु भएको छ ।’ सहकारीको आफ्नै आन्तरिक खर्च धेरै भएका कारण समस्या भएकाले खचै कटौती गर्ने काम भईरहेको उनको भनाई छ । लगानी गरेको पैसा नउठेका कारण समस्या भएको बताउँदै उनले मुद्दा हाल्नु बाहेक अरु विकल्प नदेखेको बताए ।




