
एक महिनामै १५ हजार बढीले संग्रहालय घुमे, तीन लाख बढी राजश्व संकलन
एक महिनाको अवधिमा १५ हजार बढी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् । कात्तिक महिनामा मात्रै १५ हजार ४ सय ६१ जनाले संग्रहालय अवलोकन गरेको संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए । जसमध्ये ७ हजार ६ सय २० जना बिद्यार्थी रहेको उनले जानकारी दिए ।
‘बिद्यार्थी वाहेक ७ हजार ४ सय ८२ जना नेपाली पर्यटक र ३ सय ५९ जना बिदेशी पर्यटक थिए,’ उनले भने, ‘बिदेशीमध्ये पनि तीन जना सार्क राष्ट्र र बाँकी अन्य देशको हुनुहुन्छ ।’ उनीहरुबाट ३ लाख ९ हजार ५ सय रुपैया राजश्व रकम संकलन भएको उनले बताए ।
उनका अनुसार चालु आर्थिक बर्ष हालसम्म ७ लाखभन्दा बढी राजश्व संकलन भइसकेको छ । साउनदेखि कात्तिक महिनासम्म संग्रहालय अवलोकन गरेका पर्यटकहरुबाट उक्त राजश्व संकलन भएको हो । ‘चार महिनाको अवधिमा स्वदेशी र बिदेशी गरेर ३१ हजार ८८३ जना पर्यटकले संग्रहालय अवलोकन गरे, उनीहरुबाट ७ लाख ९ हजार राजश्व संकलन भयो,’ उनले भने ।
उनका अनुसार चार महिनाको अवधिमा ९ हजार ७८९ बिद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए । उनीहरुबाट ९७ हजार ८ सय ९० राजश्व संकलन भएको छ ।
त्यस्तै संग्रहालय अवलोकन गर्ने २१ हजार ४९१ जना नेपाली पर्यटकबाट ५ लाख ३७ हजार २७५ रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सो अवधिमा कुल ६ सय ३ जना बिदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन् । उनीहरुबाट ५९ हजार ५० रुपैया राजश्व संकलन भएको छ । बिदेशी पर्यटकमध्ये २५ जना सार्क राष्ट्र र बाँकी अन्य देशका नागरिक थिए ।
संग्रहालय अवलोकनका लागि बिद्यार्थीको हकमा १० रुपैया, नेपाली पर्यटकका लागि २५, बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि १०० रुपैया प्रवेश शुल्क रकम तोकिएको छ ।




