
गोरखामा दुईदिने ‘ऐतिहासिक पर्यटन व्यवसायी मेला–२०८१’ हुने
गोरखामा दुई दिने ऐतिहासिक पर्यटन व्यवसायी मेला–२०८१ हुने भएको छ । होटल संघ गोरखाको आयोजनामा यही मंसिर ५ र ६ गते मेला हुन लागेको हो ।
जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महत्वका स्थल तथा सम्पदाहरुको प्रचार प्रसार तथा प्रबद्र्धन गर्दै पर्यटन बिकासमार्फत समग्र गोरखाको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको होटल संघ गोरखाले जनाएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु, गृहजिल्ला गोरखा भई देशभरि पर्यटन व्यवसायमा संलग्न भएका व्यक्तिहरु लगायतको उपस्थिति रहने संघका अध्यक्ष केशव कुँवरले बताए ।
गोरखा नगपालिकाले घाषणा गरेको ‘गोरखा भ्रमण वर्ष’लाई सफल बनाउन जिल्लाका प्रमुख ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने, जिल्लाको पर्यटन प्रवद्र्धन मार्फत आन्तरिक आय बृद्धि गर्न सहयोग पु¥याउने, पर्यटकहरुको बसाई अवधि लम्ब्याई आर्थिक क्षेत्रलाई चलायमान गराउने, मनासलु क्षेत्र जान गोरखा सदरमुकाम भएर जान पहल गर्ने तथा जिल्लाका रैथाने संस्कृतिलाई जगेर्ना र प्रबद्र्धन उदेश्य सहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
कार्यक्रमका लागि करिब ११ लाख ७५ हजार खर्च हुने संघको अनुमान छ । गोनपाको ८ लाख २५ हजार र संघ तथा व्यवसायीहरुको सहयोगबाट कार्यक्रम सम्पन्ने हुने बताइएको छ । कार्यक्रममा १५० भन्दाबढीेले सहभागिता जनाउने होटल संघ गोरखाले जनाएको छ ।




