
तमु प्ये ल्हु संघ गोरखाद्वारा संस्कार र संस्कृति सम्बन्धी प्रशिक्षण संचालन
गुरुङ समुदायहरुको संस्था तमु प्ये ल्हु संघ गोरखा शाखाले प्ये ताँ ल्हु ताँ अर्थात तमु÷गुरुङहरुको संस्कार र संस्कृति सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । शनिबार सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा भव्यताका साथ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको संघका अध्यक्ष सूर्यबहादुर गुरुङले बताए ।
तमु÷गुरुङ समुदायले आफ्नो संस्कार संस्कृति बिर्सिएको अवस्थामा प्रशिक्षण कार्यक्रमहरु संचालन गरी उनीहरुलाई आफ्नो चालचलनका बारेमा जागृत बनाउने उद्देश्य सहित कार्यक्रम संचालन गरिएको उनले बताए । ‘अहिले हाम्रो गुरुङ जातिले आफ्नो संस्कार बिर्सिएर धमाधम धर्म परिवर्तन गरिरहेको अवस्था छ’, उनले भने, ‘प्रशिक्षण कार्यक्रमहरु आयोजना गरी उनीहरुलाई हाम्रो संस्कार, संस्कृति र प्रचलनका बारेमा जानकारी दिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रममा खुशीमान गुरुङ, गनबहादुर गुरुङ र केशवराज गुरुङले प्रशिक्षण गराएका थिए । करिब २०० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
तमु प्ये ल्हु संघ सिरानचोक गाउँपालिका इकाईका सभापति चित्रसिंह गुरुङको सभापतित्व एवं पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओम गुरुङ र संघका निवर्तमान अध्यक्ष हितकाजी गुरुङले मन्तव्य राखेका थिए ।




