| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको ठूलोआँगनमा जूनमा मकै सुकाएर ‘सकिमना पर्व’ मनाइयो

नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व (सकिमना) शुक्रबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा मनाइएको हो ।
कात्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार यो पर्व बिगत ४५ बर्ष अघिदेखि गोरखामा मनाउन छाडिएको थियो । लामो समयसम्म रोकिएको सो पर्व पुनः २०७६ सालदेखि मनाउन थालिएको हो ।
पर्वको अवसरमा शुक्रबार, घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाइएको थियो ।
भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ । सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ । कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन् । यसो गर्दा घरमा भएका खानेकुरा समेत अमृत समान हुन्छ भन्ने जनविश्वास छ ।
मकै सुकाउन सबैले घरघरबाट ल्याउनुपर्छ भन्ने अनिवार्य छैन । तर नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठूलोआँगन क्षेत्रका अधिकांशले लगेका थिए । कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन् ।
ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिको अगुवाईमा बाजागाजासहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी मकै सुकाइएको थियो । भजन, पञ्चेबाजा, धिमे बाजाको साथमा ठूलो आँगनमा शुक्रबार मकै सुकाइएको हो ।

प्रतिक्रिया दिनुहोस्