
गोरखामै फलेको अर्गानिक स्याउ पाएपछि उपभोक्ता दंग
सिजनमा मुस्ताङ, जुम्ला तथा भारत, चीन,अमेरिका, जापानबाट आएका स्याउले भरिने गोरखाका फलफूल बजारमा यसपटक पहिलोपल्ट उत्तरी गोरखाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ आइपुगेको छ । चुमनुब्री गाउँपालिका २ ल्होमा फलेको गुणस्तरीय ‘मनास्लु’ ब्राण्डको स्याउ बिहिबार बिहानदेखि गोरखा बजारमा बिक्रीमा राखिएको हो ।
पहिलोपल्ट आफ्नै जिल्लाको स्याउ बजारमा देखेपछि उत्साहित बनेका गोरखाका उपभोक्ताहरुले स्याउ किन्दै ‘स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ’ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन् । सँधै आयातित स्याउ किन्न बाध्य उनीहरुले आफ्नै जिल्लाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ पाएपछि सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका हुन् ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्रेरित गर्दै जिल्ला प्रशासन कार्यालयले समेत फेसबुक पेजमा मनास्लु स्याउको तस्वीर सजाएको छ । विशाल मनास्लु फर्म तथा कृषि अध्ययनकेन्द्रको २६०० मिटर उचाइमा फलेको फुजी, गाला जातको ‘मनासलु स्याउ’ बिक्रीका लागि धार्चेका एक बिक्रेताले हरमटारीचोकमा राखेका छन् ।
आफ्नै जिल्लामा फलेको उच्चगुणस्तरको स्याउको फेसबुकमा प्रचार प्रसार भइरहेको देखेपछि आफू पनि स्याउ किन्न आएको हरमटारीकी लीला श्रेष्ठले बताइन् । ‘प्रचार प्रसार भइरहेको देखेपछि गोरखामा पनि स्याउ पाइन्छ भनेर पत्याउनै गाह्रो भयो । अनि हेर्न आएको’, आफ्नै जिल्लाको स्याउ देखेपछि दंग भएकी उनले भनिन्, ‘आफुले पनि चाख्नुप¥यो, परिबारलाई पनि चखाउनु प¥यो भनेर दुई किलो किनेको छु ।’ आफ्नै ठाउँको स्याउ भनेपछि असाध्यै मन परेर किनेको उनले बताइन् ।
स्याउका बिक्रेता धार्चेका खड्क गुरुङले पनि ‘मनास्लु हिमालको फेदमा फलेको स्याउ हो’ भन्दै बेच्दै गरेका छन् । ‘आज पहिलो दिन हो । खासै भाउतोल त गर्न जान्दिन् तर पनि सोचेको भन्दा धेरै राम्रो बिक्री भएको छ’, गुरुङले भन्छन्, ‘अर्गानिक स्याउ चिन्ने मान्छेहरु खोजी खोजी आउनु भएको छ । गोरखाको लोकल स्याउको प्रचार भएपछि अझै आउनुहोला ।’ पहिलो दिन करिब ५० केजी स्याउ बिक्री भएको उनले बताएका छन् ।
‘माथि फर्मबाट ५३ प्याक लाएको हो । १४ प्याक बाटोमा बिक्री भयो बाँकीचाँही यहाँ ल्याएको हुँ’, उनी भन्छन्, ‘तीन दिन खच्चड र एक दिन गाडीमा हालेर बजारसम्म ल्याएको हो । ग्राहकहरुले माया गरेर लैजानु भाको छ ।’ अधिकांश मानिसहरुले गोरखामा पनि स्याउ फल्ने रहेछ भनेर उत्साही हुँदै स्याउ खरिद गरेको उनले बताएका छन् । गुरुङले ल्याएको स्याउ चुमनुब्री गाउँपालिका(२ लिहीस्थित बिशाल मनासलु फर्मबाट करिब ३०० केजी स्याउ सदरमुकाम पठाइएको फर्मका संचालक छिरिङ लामाले बताए । उनले करिब ६० रोपनी जग्गामा ५ हजार ३०० बोट स्याउ लगाएका छन् । भर्खरै मात्र उत्पादन दिन थालेकोमा यो वर्ष परीक्षणका रुपमा गोरखा बजारमा स्याउ पठाइएको उनले बताएका छन् ।
‘यसपालि परीक्षणका लागि भनेर थोरै मात्र पठाएको छु । बजारको माग राम्रो आयो भने अझ थप स्याउहरु पठाउने तयारीमा छु’, लामाले भने ।
आफ्नो फर्मको स्याउ विशुद्ध अर्गानिक रहेको लामा बताउँछन् । यो वर्ष १० हजार केजी स्याउ उत्पादन भएकोमा ५० प्रतिशत बिक्री गर्न नमिल्ने रहेको उनले बताएका छन् ।
‘हामीले बिना कुनै विषादी स्याउ उत्पादन गरेका छौँ, त्यसैले ५० प्रतिशत स्याउ त बिक्री गर्न नमिल्ने निस्किए’, उनले भने, ‘ढुवानीमा समस्या हुँदा स्याउहरु बाटोमै पनि बिग्रिएको अवस्था छ । बजारको माग राम्रो आयो भने प्याकेजिङका कुराहरुलाई विषेश ध्यानमा राखी काम गर्नेछौँ ।’ हाल ५ हजार केजी स्याउ कोल्ड स्टोरमा राखिएको उनले जानकारी दिए । स्याउहरु मनासलु क्षेत्रमा घुम्न जाने पर्यटन र त्यहाँका होटल व्यवसायीहरुलाई बिक्री गर्नेगरी भण्डारण गरिएको उनले बताएका छन् ।




