
धार्चेको तातोपानीको पूर्वाधार चाँडो निर्माण गरौँ
म्याग्दीको बेनीबाट मुस्ताङ जाने सडकमा तातोपानी पर्दछ । सो तातोपानीलाई तारबार गरी स्थानीय पालिकाले प्रवेश शुल्क लिई त्यहाँ भित्र जाने र पानीमा डुबुल्की मार्ने व्यवस्था गरेको छ । यसबाट पालिकाले मनग्य राजस्व आर्जन गरेको छ । निर्धारित प्रवेश शुल्क तिरी तातोपानीमा नुहाउने, डुबुल्की मार्ने, स्वास्थ्य लाभ लिने इच्छुकहरुको संख्या पनि ठूलै छ ।
गोरखामा पनि तातोपानी छ । मनास्लु क्षेत्र प्रवेश गर्ने मार्गमा सो तातोपानी पर्दछ । तर त्यहाँ प्रवेश शुल्क लिएर नुहाउने, डुबुल्की मार्ने, स्वास्थ्य लाभ लिन पाउने व्यवस्था यहाँ छैन । यो तातोपानी पहिले पदमार्गमा पर्दथ्यो, अहिले पनि सडकमै छ, जसले गर्दा मान्छेहरुलाई त्यहाँ पुग्न कठिनाइ छैन । तर पूर्वाधार निर्माण सम्पन्न भएको छैन । यसअघिका गाउँपालिकाको नेतृत्वले पनि त्यहाँ पूर्वाधार बनाउन सुरु गरेको थियो ।
अहिले पनि पूर्वाधार बनाउन लागि परेको छ । तर काम छिटो भने भएको छैन । पूर्वाधार निर्माणमै धेरै ढिलाइ हुँदा सञ्चालन हुन लामो समय लागेको छ । यो सुखद होइन । गतबर्ष गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माणको काम सुरु ग¥यो । यसबर्ष धार्चे गाउँपालिकाले पुनः १० लाख रुपैयाँ विनियोजन गरेको छ । यतिले पनि पूर्वाधार निर्माणको काम सकिएर इच्छुकहरुलाई नुहाउन, डुबुल्की मार्न पुग्ने अबस्था आउन सक्छ कि सक्दैन अन्यौलै छ ।
यहाँबाट राजस्व पनि आम्दानी हुने, मान्छेहरुले स्वास्थ्य लाभ पनि गर्न पाउने, यसका कारण पर्यटन विकास पनि हुने, प्रचार प्रसार पनि हुने भएकाले यसको पूर्वाधार निर्माण चाँडो गरी सञ्चालनमा आउनु आवश्यक छ । तातोपानीमा नुहाउनाले चर्मरोग, बाथजोर्नी समस्या, युरिक एसिड, ज्यान दुख्ने, गानुगोला, नशाको रोग आदिको निदान हुने तथ्य छ । त्यसैले यथासीघ्र पूर्वाधार निर्माण गरी तातोपानी कुण्ड सञ्चालन गर्नुपर्छ ।




