
गोरखाको ‘तातोपानी’ विकास गर्दै स्थानीय र प्रदेश सरकार
धार्चे गाउँपालिका ३ मा अवस्थित ‘तातोपानी’ को पूर्वाधार विकास गर्न स्थानीय र प्रदेश सरकारले संयुक्त रुपमा पहल गरेका छन् । मनास्लु पदमार्गमा पर्ने ‘तातोपानी’को प्रवद्र्धन गरी पर्यटन विकास गर्ने उद्देश्यले दुवै तहका सरकारले विभिन्न पूर्वाधार विकास गरेका हुन् ।
यसबर्ष गाउँपालिकाले १० रुपैयाँ खर्चेर तातोपानीमा नुहाउने कक्षको विकास गर्दैछ । ‘महिला र पुरुषको अलग अलग नुहाउने कक्ष बनाउनेछौँ’, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘उनीहरुको अलग अलग प्रवेशद्वार, अलग अलग चेञ्जिङ रुम, अलग अलग सौचालय बनाउनेछौँ ।’ यसबर्ष सो पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
गतबर्ष गण्डकी प्रदेश सरकारले त्यहाँको पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘आर्थिक बर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको थियो । त्यसबाट कुण्डहरु बनाउने, ट्रस्ट बनाउने काम भयो’, वडाअध्यक्ष शेरबहादुर गुरुङले भने, ‘अब बाँकी काम गर्न यसबर्ष गाउँपालिकाले पनि १० लाख बिनियोजन गरेको छ । यसले आवश्यक संरचनाहरु बनाउँछौँ ।’
टिकटको ब्यबस्था गरी ज्याकुजीमाझैँ डुबुल्की मारेर नुहाउने व्यवस्था गर्ने योजना रहेको उनले बताए । ‘पूर्वाधार बनिसकेपछि कति मिनेट अथवा कति घण्टा डुबुल्की मारेर नुहाउन कति रुपैयाँ लिने भन्ने व्यवस्था गर्नेछौँ’, उनले भने । यहाँको तातोपानीमा हातमुख धुनाले पनि लाभ हुने धार्मिक विश्वास छ । केहीबेर शरीर डुबाइराखेमा स्वास्थ्य लाभ हुने तथ्य रहेको वडाअध्यक्ष गुरुङको भनाइ छ ।
‘यहाँको तातोपानी धारामा हात मुख धोएमा धर्म हुने, सुख, शान्ति, संवृद्धि मिल्ने परापूर्व कालदेखिको विश्वास छ’, उनी भन्छन्, ‘यदि लामो समयसम्म तातोपानीमा शरीर डुबाइराखेमा गानोगोला, छालाको रोग, जिउ दुख्ने, हाडजोनी दुख्ने(बाथ), युरिक एसिड, मर्केको, सड्केको पनि निको हुन्छ ।’ यहाँको ५० डिग्रीभन्दा बढी तापक्रम भएको पानीमा लामो समय डुबुल्की मारिराखेमा प्यारालाइसिसको समस्यालाई समेत लाभ हुने उनले बताए ।
यसको पूर्वाधार निर्माण गरी आकर्षक बनाउन सकेमा पर्यटन विकास हुने गाउँपालिकाले जनाएको छ । ‘पूर्वाधार आकर्षक बनाउन सक्यौँ भने यो बाटो भएर मनास्लु क्षेत्र जाने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ नुहाउन आउनेछन् । उनीहरुबाट पालिकाले राम्रै राजस्व संकलन गर्न सक्छ’, गाउँपालिकाका अध्यक्ष गुरुङ भन्छन्, ‘यहाँको तानेपानीमा नुहायो भने चिसोबाट उब्जिएका रोगहरु निको हुन्छ । ५० डिग्रीभन्दा बढि तातो यहाँको पानीमा नुहाउँदा हुने स्वास्थ्य लाभका बारेमा प्रचार प्रसार गर्न सकेमा यहाँको पर्यटन विकास हुनेछ ।’




