| सोमवार, कार्तिक २३, २०८३

फिल्महल स्तरोन्नति गर

कुनै समय थियो, गीत रेकर्डिङमा रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङको सिण्डिकेट थियो । जस्ता गीत रेकर्डिङ गरे पनि नेपाली स्रोता सुन्न बाध्य थिए । अन्यथा हिन्दी गीत सुन्नु, सुनाउनुको बिकल्प थिएन । भोजभतेर, पार्टी तथा विभिन्न उत्सव, कार्यक्रमहरुमा, गाडीहरुमा हिन्दी गीत संगीत बज्थे ।

पछि निजी क्षेत्रले पनि गीत रेकर्डिङको अनुमति पाए । अनि गीतकार, संगीतकार, गायककारहरुले आफ्ना प्रतिभा मनमौजी प्रस्फुटन गर्न पाए । त्यसपछि राम्रो गीत, संगीत बजारमा ल्याउने प्रतिस्पर्धा चल्यो । अनि नेपाली गीत, संगीत पनि उत्कृष्ट बन्न थाले । अहिले नेपालीहरु विदेशी भन्दा नेपाली गीतमै रमाउन थालेका छन् ।

फिल्ममा पनि उही अबस्था थियो । नेपाली फिल्म उद्योगमा नाम मात्रको फिल्म बन्थे । अनि फिल्मप्रेमीहरु विदेशी फिल्ममा झुम्मिन बाध्य हुन्थे । अहिले क्रमशः त्यस्ता फिल्महरु बन्न थालेका छन्, जसले दर्शकको अगाध माया पाउन थालेका छन् । गोरखामा मात्र होइन, देशैभरका सिनेप्रेमीहरुमा नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’को चर्चा छ । असल अभिभावकको हृदयविदारक कथा लोकप्रिय बनेको छ ।

त्यसैले टिभी, युट्युव, पत्रपत्रिका, अनलाइन जताततै पूर्णबहादुरको सारंगीको चर्चा छ । बाल, वृद्ध, बनिता सबका सब लाइन लागेर फिल्महलतिर सोझिएका छन् । अहिले यसपछिको सो पनि अहिल्यै भरिपूर्ण हुने गरेको छ । व्यापारीहरु पनि सटर थुनेर फिल्महलतिर पुगेका छन् । कार्यालय समयभन्दा बाहिर शिक्षक, कर्मचारी, वैंकर्स, स्वास्थ्यकर्मी पनि फिल्महलतिरै भेटिन्छन् । फिल्म हेर्न अभिभावकहरु आफ्ना जहान, छोराछोरी, नाति, नातिनी सबै समेटेर जाने गरेका छन् । कोही २० बर्षपछि आएको हुँ भन्छन्, कोही ३० बर्षपछि आएको हुँ भन्छन् ।

१२–३ मात्र चल्ने गरेको फिल्महल अहिले ३–६, ६–९ र ९–१२ पनि हाउसफुलका साथ चलेको छ । यो बिचित्रको रेकर्ड गोरखाको फिल्म हलको इतिहासमा पहिलो पटक हो । हरेक ‘शो’मा टिकट(सिट) नपाएर उभिएर हेर्नेको पनि भीड छ । तर दर्शकहरुले समयको परिवर्तनसंगै हल सुविधासम्पन्न बन्न नसकेको गुनासो गरेका छन् । अब हलका सञ्चालकले यसतिर ध्यान दिनु आवश्यक देखियो ।

प्रतिक्रिया दिनुहोस्