
लामो प्रतिक्षापछि अर्ब लागतमा सिंजाली माविको संरचना निर्माण सुरु
एक दशकभन्दा लामो पर्खाइपछि सहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन निर्माणको काम अघि बढेको छ । भवन निर्माण स्थल वरपर रहेका संरचनाहरु भत्काउने काम सुरु भएको प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए । विद्यालयको क्षेत्र विस्तार गर्ने क्रममा आसपास रहेका लोकबहादुर थापा, गोविन्द थापा र प्रेमकुमार श्रेष्ठको घर भत्काइएको उनले जानकारी दिए ।
ती मध्ये लोकबहादुर थापाको घर पुननिर्माण भइसकेको छ । बिद्यालयका अभिभावकको श्रमदान र केही चन्दादाताको सहयोगमा उनको घर पुननिर्माण गरिएको प्रअ श्रेष्ठले बताए । ‘पहिले रहेको स्थानभन्दा केही पर उहाँकै जग्गामा नयाँ घर बनाइदिएका हौ,’ उनले भने, ‘बिद्यालयको पहलमा सबै अभिभावकलाई बोलाएर श्रमदान गर्न लगायौ । केही चन्दादातासँग सहयोग पनि उठायौँ ।’
नवनिर्मित दुई तले भूकम्प प्रतिरोधी घर आइतवार थापालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रमेश थापा मगर र उपाध्यक्ष इन्दिरा तिवारीले संयुक्त रुपमा लोकबहादुरलाई घरको चाबी हस्तान्तरण गरेका हुन् । भत्काइएका अन्य दुई घर भने पुननिर्माण गर्न आवश्यक नरहेको श्रेष्ठले बताए । ‘प्रेमकुमारको त्यो घर भूकम्पले पूरै क्षति पुगेर अलपत्र परेर बसेको थियो, नयाँ घर बनाएर उहाँहरु सर्नुभएको धेरै भइसक्यो,’ उनले भने ।
गोविन्द थापाको पनि अर्काे घरमा बस्दै आएकाले समस्या नभएको उनको भनाइ छ । ‘गोविन्द थापाको घरको काम लाग्ने काठ र ढुंगाचाहिँ हामीले किनेर लोकबहादुरको घर बनाउन प्रयोग ग¥यौँ,’ उनले भने ।बिद्यार्थीको पठनपाठनका लागि अस्थायी टिएलसी निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । उनका अनुसार अबको केही दिनमा बिद्यार्थीलाई टिएलसी भवनमा सारेर बिद्यालयको अस्थायी टहराहरु भत्काउने काम सुरु हुन्छ ।
चीन सरकारको सहयोगमा करिव एक अर्व खर्चेर उक्त बिद्यालयको नयाँ भवन बन्न लागेको हो । सम्झौता गरेको १२ वर्षपछि चीन सरकारले भवन बनाउन लागेको हो । चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएका बेला सन् २०१३ मा नेपालका १० वटा हिमाली जिल्लामा एक–एक वटा अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवन लगायतका संरचना बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सँग सम्झौता गरेको थियो । सम्झौता भएको १२ बर्षपछि बल्ल काम सुरु भएको छ ।




