
वैकल्पिक पर्यटन पदमार्ग बनाऊ
यतिबेला उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका पर्यटकले भरिभराउ छ । होटलहरु दुई दिनअघि नै भरिभराउ हुन्छन् । अग्रिम बुकिङ नगरी जाने पर्यटकहरुले बास पाउन पनि कठिन छ । आन्तरिक पर्यटकलाई झन गाह्रो ।गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार गत असोजयता मनास्लु क्षेत्रमा पचपन्नसय पर्यटक पुगिसकेका छन् ।
जसमा पाँच हजार विदेशी तथा पाँचसय आन्तरिक पर्यटक छन् । देशी, विदेशी गरी सो पदमार्गमा करिब दुईसय जना पर्यटक आवागमन गर्छन् । गत शुक्रबारको रेकर्डअनुसार गाउँपालिकाले यो पुग नपुग दुई महिनामै ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । पर्यटकको यो आगमन देखेर गाउँपालिकाले गत गाउँसभाबाट निर्णय गरी पर्यटकसँग शुल्क संकलन गर्न सुरु गरेको छ ।
विदेशीसंग जनही एकहजार स्वदेशीसंग जनही दुईसय रुपैयाँका दरले राजस्व संकलन गर्न सुरु गरेको हो । संकलित सो रकम पर्यटन विकासमा मात्र खर्च गर्ने पालिकाको योजना छ । पर्यटकको सुरक्षा र फोहोरमैला व्यवस्थापन गर्ने, डढेलो नियन्त्रण गर्ने, नयाँ तथा वैकल्पिक पदमार्ग निर्माण गरी बाटो, पुल मर्मत समेत गर्ने, खानेपानीका संरचना निर्माण, सेल्टर तथा चौतारी निर्माण, साईनबोर्ड तथा नक्सा राख्ने कार्यमा सो राजस्व रकम खर्च गर्ने योजना छ ।
त्यस्तै सो रकमले स्थानीयलाई पर्यटन सम्बन्धी तालिम दिई उद्धार तथा राहतमा सहयोग एवं समन्वय गर्ने, वातावरण संरक्षण, ताल संरक्षण, गुम्बा मर्मत तथा संरक्षण, होमस्टे व्यवसाय प्रवद्र्धनमा पनि प्रयोग गर्ने लक्ष्य राखिएको छ । अरु भन्दा पालिकाले वैकल्पिक पदमार्ग निर्माणमा सो राजस्व रकम प्रयोग गर्नुपर्छ । अहिले पर्यटक ट्याक्टर, फोरह्वील, बोलेरो, अरु जीप, मोटरसाइकलले बुङ्बुङ्ती उँडाएको धुलोमा डुब्दै हिँडिरहेका छन् ।
स्वच्छ, सफा वातावरणमा हाइकिङ गर्न आएका पर्यटक धुलोमा डुब्दै हिँड्नुपर्दा खुशी पक्कै हुदैनन् । साथै आडैबाट मोटर कुदिरहँदा स्वाँस्वाँफ्वाँफ्वाँ गर्दै हिडिरहन मज्जा पनि हुदैन । त्यसैले उनीहरुलाई मोटरबाटोभन्दा पर स्वच्छ ठाउँबाट पदमार्ग बनाउनु अति जरुरी छ । यसमा ढिला ग¥यो भने यो रुटमा पनि पर्यटक घट्दै जाने पक्का छ ।




