| सोमवार, अशोज ११, २०८३

धार्चेको शिक्षा सेवामा गणेश हिमाल एशोसिएशनको योगदान

गोरखाको धार्चे गाउँपालिकाको शिक्षा सेवामा लाप्राकका सुनारबहादुर गुरुङको योगदान अतुलनीय छ । भाग्यवश फ्रान्स पुगेका उनी धेरै अवसरहरु छाडेर पनि नेपालमै र त्यसमा पनि आफ्नै जन्मथलोमा शिक्षा सेवा गरेर जीवन बिताइरहेका छन् । धेरै प्रचार प्रसार नरुचाउने उनी गाउँपालिकाभरिका विद्यालयहरुमा कुनै न कुनै तबरले शिक्षा सेवा गरिरहन्छन् ।

फ्रान्सको नेशनल स्कूल अफ स्की एण्ड माउण्टेनियरिङमा भर्ना भई सन् २००८ मा उनले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र प्राप्त गरे । फ्रेन्च रिपब्लिक युथ एण्ड स्पोर्टस मिनिस्ट्रीबाट स्टेट डिग्री अफ स्पोर्टस् कोच अप्सन माउण्टेन गाइडको प्रमाणपत्र प्राप्त गरे । फ्रान्समा सन् १९९७ देखि पर्यटन, पर्वतारोहण, स्की तथा विभिन्न क्षेत्रमा तालिम प्राप्त गरी उनी पोख्त बन्छन् ।

सन् १९९७ मा इन्स्ट्रक्टर रक क्लाइम्बिङ तालिम, सन् १९९८ मा इन्स्ट्रक्टर माउण्टेनियरिङ एण्ड रक क्लाइम्बिङ, कार्टोग्राफिक लेभल टु, माउण्टेनियरिङ रेस्क्यू लेभल टुको कोर्श गर्छन् । फेरि १९९९ मा इन्टरनेशनल माउण्टेन लिडर कोर्श र अल्पाइनिज्मका बारेमा डिप्लोमा ईएनएसए गर्न सफल हुन्छन् । सन् २००२ मा एड्भान्स स्की ट्रेनिङ, स्नो एण्ड एभालेन्स ट्रेनिङ, सन् २००५ मा एस्पिरेन्ट गाइड र फ्रान्समा राम्रो करियर बनाएका उनले त्यहीँ बसेर मनग्य पैसा कमाउने अवसर पाएका थिए ।

उनका अभिभावकले उनलाई फ्रान्समै करिअर विकास गर्न बारम्बार आग्रह गरे तर आफ्नो देशको माया, राष्ट्रभक्तिको भावनाले जित्यो र विदेशी कर्मथलो छोडेर उनी सन २००८ मा पुरानै कर्मथलो नेपाल फर्किए । त्यसयता उनले लेजामी द लाप्राकसंग साझेदारी गरी गणेश हिमाल एशोसिएशनमार्फत लाप्राकको मणिकामदेवी माविको विद्यालय भवन र छात्रबास भवन निर्माण गरे । छात्राबासमा बस्ने, खाने खर्चको प्रवन्ध गरे । त्यहाँका सबै विद्यार्थीलाई आबश्यक पुस्तक, स्टेशनरी तथा सहयोगी सामग्रीहरुको समेत ब्यबस्था गरिरहेका छन् ।

बारपाकको हिमालय माविमा ११ कोठे छात्रबास, गुम्दाको सूर्योदय मावि, लप्सीबोटको जनजागृति आधारभूत विद्यालय, उहियाको पार्वती निमावि, मान्द्रेको भगवती आधारभूत विद्यालय, बालुवाको जीवनज्योति आवि, बल्फेको ज्ञानज्योति आवि, खोर्लाको सातकन्या मावि, केरौंजाको केरौंजा मावि, गण्डकी प्रावि रुञ्चेत, जनसेवा आवि यमगाउँ, जनजागृति प्राबि माछाखोला र ओलाजुङ प्राबि थलाका विद्यालय भवन बनाएका छन् । त्यस्तै बर्सेनी शैक्षिक सामग्री वितरण गरिरहेका छन् । उनको अतुलनीय शिक्षा सेवा स्तुत्य छ ।

प्रतिक्रिया दिनुहोस्