| आइतवार, कार्तिक २२, २०८३

भैलो खेलेको पैसाबाट कृषि औजार

प्रतीक्षा आले मगर ।
तपाईँहरुकोतिर देउसी भैलो कत्तिको खेलिँदै छ ? अनि तपाईँहरुले देउसी खेलेर जम्मा भएको रकम के गर्ने योजना बनाउनु भएको छ ? अधिकांशले देउसी खेलेर उठेको पैसा सामूहिक रुपमा घुमेर वा भोज खाएर खर्च गर्नु हुन्छ । तर, धार्चे गाउँपालिका–३ उहियाका ‘उहिया कृषक आमा समूह’ कृषि सामग्री जोरजाम गर्ने उद्देश्यले देउसी भैलो खेलेका छन् ।

‘गाउँमा भैलो त हरेक वर्ष खेल्छौँ तर यो वर्ष भने पहिलो पटक आमा समूहमार्फत खेलेका हौँ’, जिल्ला समन्वय समिति गोरखाकी सदस्यसमेत रहेकी महिला समूहकी सदस्य प्रमिना घलेले भनिन्, ‘अरु बेला त हामीले पनि भोज खाएर र रमाइलो गरेर रकम खर्च गथ्र्यौ, यो वर्ष भने कृषि औजार किन्ने भनेर समूहमार्फत भैँलो खेलेका हौँ । गाउँको बाँझो जमिनको पनि सदुपयोग होस्, धेरथोर आयआर्जन पनि होस्, आयात न्यूनिकरण पनि होस् र उत्पादनमुलक काममा व्यस्त बन्न पाइयोस भनेर सामूहिक रुपमा खेती गर्ने उद्देश्यले उहिया आमा समूहले काम गरेको हो ।’

जिसस सदस्य घले भन्छिन्, ‘रुइला नाका खोलेसँगै गाउँमा बाँदरहरु भित्रिए, उसै त गाउँलेहरु बसाईसराई गरेर शहर पसिरहेको बेला झन् यो बाँदर आतंकले गर्दा थप गाउँलेहरु बाहिरिए । गाउँमा बाँदर आतंक कम गर्नका लागि हामीले सामूहिक खेतीको अवधारण सहित आमा समूह गठन गरेका हौँ ।’ सामूहिक खेती अन्तरगत २० रोपनी जमिनमा मार्सी धान खेती गरेर राम्रो उत्पादन गरेको उहिया आमा समूहले हाल भने खेती गर्दा चाहिने कृषि औजार खरिद गर्नका लागी देउसी भैलो कार्यक्रम संचालन गरेको हो ।

‘समूह भर्खरै गठन गरेका छौँ, कृषि औजार भयो भने काम गर्न धेरै सहज हुन्छ तर हाम्रो आमा, दिदी, बहिनीहरुलाई कृषि औजारका लागि कसरी निवेदन लेख्ने र कहाँ अनुदान माग्ने भन्नेसम्म पनि केही थाहा छैन । त्यसैले अरुमा आत्मर्निभर हुनुभन्दा भनेर देउसी भैलो खेलेर रकम संकलन गरी खरिद गर्न लागेका हौँ’, जिसस सदस्य घलले भनिन् ।

समूहले यही कात्तिक १६ देखि २० गतेसम्म गाउँमै देउसी भैलो खेलेर १ लाखभन्दा बढी रकम संकलन गरिसकेको बताइएको छ । धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङले सो समूहलाई मादललगायतका वाद्यवादन सामग्री, साउण्ड सिस्टम र पोशाकको व्यवस्था गराएका छन् ।

उहिया गाउँबाट मात्र उक्त रकम संकलन भएको हो । संकलित रकमबाट हाते ट्रयाक्टर र कुटानी पिसानी मिल खरिद गर्ने उहिया आमा समूहले जनाएको छ । यसले सामूहिक खेतीमा थप सहजता पु¥याउने आशा उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्