| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा अफ्रिकन स्वाइन फिवरको संक्रमण फैलन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह

छिमेकी जिल्ला नवलपरासीमा अफ्रिकन स्वाइन फिवर देखिएको भन्दै गोरखामा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका बंगुरपालक कृषकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

हालसम्म यो रोग विरुद्ध कुनै पनि खोप उपलब्ध नभएको र यसको कुनैपनि प्रभावकारी उपचार समेत नभएको भन्दै यसको रोकथाम नै रोगसँग लड्ने सर्वोत्कृष्ट उपाय रहेको कार्यालयले जनाएको छ । अफ्रिकन स्वाइन फिवर अत्यन्तै संक्रामक सरुवा रोग भएको हुँदा रोगी पशुको सिधा सम्पर्क, संक्रमित दाना पानी र ढुवानीको साधनहरुका साथै किर्नाको टोकाइबाट पनि सर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उच्च ज्वँरो आउने, शरिरको विभिन्न भाग रातो हुनको साथै कान, छाती, नाक र पुच्छरमा रगत जमेर निलो धब्बा देखिने आदि यसका प्रमुख लक्षणहरु हुन् । यो सरुवा रोग भएकाले सङ्क्रमित बंगुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव कार्यालयको छ । रोगको शंका लागे तुरुन्त नजिकैको पशु सेवा शाखा वा भेटेनरी अस्पतालमा सम्पर्क गर्न कार्यालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्