| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा पोष्टपेड नम्वरबाट प्रहरीको हटलाइन नम्वर १०० मा लाग्दैन फोन

नेपाल प्रहरीको हटलाइन नम्वर १०० मा नेपाल टेलिकमको पोष्टपेड नम्वरबाट फोन लाग्दैन भन्ने सुन्दा अचम्म लाग्ला । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । तर यो समस्या अन्यत्र नभई गोरखा जिल्लामा छ । यो कुरा नेपाल टेलिकम गोरखा शाखाले पनि स्वीकार गरेको छ । ‘हामीले पनि केही दिन अघि मात्र थाहा पायौ,’ कार्यालयका सूचना अधिकारी सन्दिप ढकालले भने, ‘प्रहरी कार्यालयबाटै यस्तो गुनासो आएको छ भनेपछि मात्र थाहा पाएका हौ ।’

राउटिङ मिलाउने क्रममा केही प्राविधिक समस्या भएको हुनसक्ने उनले बताए । ‘हटलाइन नम्वरका लागि मोवाइल र ल्याण्डलाइन दुवैबाट हुने गरी राउटिङ मिलाएर हामीले पोखरा पठाउने हो र पोखराले माथि केन्द्रमा पठाउँछ,’ उनले भने, ‘बिचमा केही कनेक्सन टुटेर समस्या भएको होला ।’ यसअघि पोष्टपेड नम्वरबाट १०० मा सम्पर्क हुन्थ्यो वा हुन्थेन भन्ने कुरा पनि एकीन नभएको उनले जानकारी दिए ।

उनका अनुसार नेपाल टेलिकम गोरखाको टावरबाट कनेक्सन भएका पोष्टपेड फोनबाट सम्पर्क गर्दा १०० मा फोन नलाग्ने समस्या रहेको छ । अन्य जिल्लामा यो समस्या नरहेको बताउँदै उनले यसबारे केन्द्रमा जानकारी गराइसकिएको जानकारी गराए । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक एवं सूचना अधिकारी प्रतिमा घिमिरेले यो समस्याबारे यसअघि जानकारी नभएको बताइन् । यसबारे थप बुझ्ने र समस्या भएमा समाधान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्