| आइतवार, कार्तिक २२, २०८३

चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न

सिरानचोक गाउँपालिका–४ को चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न भएको छ । करिव डेढ करोडको लागतमा निर्माण भएको उक्त आयोजनाबाट कुल १ सय ४८ घरधुरी लाभान्वित छन् । प्रत्येक घरधुरीमा एक घर एक धारा जडान भएको बताइएको छ ।

आर्थिक बर्ष २०७७/७८ बाट सुरु भएको उक्त आयोजनाको काम चालु आव सम्पन्न भएको हो । आयोजना अन्तरगत ५० घनमिटरको पानी पोखरी र १ सय ४८ घरधुरीमा निजी धारा जडान भएको छ । दुई वटा इन्टेक ट्यांक निर्माण भएका छन् । उक्त आयोजनाको शनिवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेशको ‘एक घर एक धारा’ भन्ने नारा सहित चुनावमा आफूले गरेको बाचा पूरा भएको बताए ।

प्रदेश सरकारले एक घर एक धारा भन्ने नारा सहित हरेक घरमा आधारभुत खानेपानी पु¥याउने लक्ष्य सहित काम गरिरहेको उनले बताएका छन् । यस्तै, उनले प्रदेशभर अलपत्र परेर बसेका एक वर्ष भित्र पूरा हुने सबै खानेपानी आयोजनाहरुलाई बढीमा ५० लाख बजेट बिनियोजन गरेर पुरा गर्ने लक्ष्य गण्डकी प्रदेश सरकारको रहेको जानकारी गराएका छन् ।

‘हाल प्रदेशको आवश्यकता धेरै तर श्रोत साधान भने सिमित छ, तर यो मेरो निर्वाचन क्षेत्र पनि भएकाले प्राथामिकताका आधारमा बजेर बिनियोजन हुँदै जानेछ’, उनले भने, ‘प्रदेश सरकारले एउटा वडादेखि अर्को वडा जोड्ने र पालिका जोड्ने मुख्य बाटोहरु बाह्रै महिना संचालनमा आउनेगरी स्तरोन्नती गर्न योजनाका साथ बजेट बिनियोजनको काम गर्दै आएको छ, यसलाई पनि निरन्तरता दिइने छ ।’

उद्घाटन समारोहमा बोल्दै उनले स्थानीयहरुको आवश्यकता अनुसार क्रमश प्राथामिकताका आधारमा बजेट बिनियोजन हुने बताए । यसैगरी, उनले व्यवस्थित रुपमा खानेपानी आयोजना संचालन गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्