
ठाँटी गाउँमा स्वास्थ्य सेवा प्रभावकारी बनाऊ
धार्चे गाउँपालिका ७ को ठाँटी गाउँ वडा केन्द्रबाट झण्डै सात, आठ घण्टाको बाटो टाढा पर्दछ । अर्को गाउँ भीरकुनाबाट चार, पाँच घण्टा पर पर्दछ । सो गाउँ बरु आरुघाट गाउँपालिका ३ देउराली, स्वाँरा गाउँबाट दुईघण्टा, तीनघण्टा नजिक पर्दछ ।
ठाँटी गाउँ भौगोलिक रुपमा टाढा पर्ने हुँदा त्यहाँको समस्याका बारेमा स्थानीय सरकार पनि जानकार छैन ।
यहाँका मतदाता मतदान गर्नसम्म पनि पाँच छ घण्टा पैदल हिडेर जानुपर्दछ । गाउँमा स्वास्थ्य सेवा छैन । पोलियो थोपा, जुकाको दबाइ, भिटामिन ए क्याप्सुल खुवाउन पनि स्वास्थ्यकर्मीले जो भेटिन्छ, उही सर्वसाधारणको हातमा औषधी पठाउँछन् । स्वास्थ्य संस्था नहुँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुको नियमित परीक्षण गर्न पनि आरुघाट गाउँपालिका ३ स्वाँरा गाउँ जानुपर्ने बाध्यता छ ।
गाउँमा ज्वारो नाप्ने थर्मोमिटर पनि छैन । ज्वारो आयो भने कि तीनघण्टा हिँडेर स्वारा गाउँ पुग्नुपर्दछ । तिम्रो घरमा सिटामोल छ ? भन्दै सोध्दै घरदैलो गर्नुपर्ने बाध्यता छ । कसैको घरमा डेटअफ भएको सिटामोल लगायतका औषधी पाइयो भने पनि यहाँका बासिन्दा खुशी हुन्छन् ।
हेल्थपोस्ट, गाउँघर क्लिनिक नभएको ठाँटी गाउँमा महिला स्वास्थ्य कार्यकर्ता पनि छैनन् । ग्रामीण स्वास्थ्य कार्यकर्ता पनि छैनन्, सुत्केरी गराउन गाउँमा बर्थिङसेण्टर हुने त परको कुरा । महिलाहरु घरमै, गोठमै पनि सुत्केरी हुन्छन् । यहाँ सुकमाया गुरुङ सुँडेनीका रुपमा सेवा गर्छिन् । बिगत अठारबर्षदेखि उनी सुँडेनीका रुपमा काम गर्छिन् ।
सातजना बच्चा उनको मद्दतबाट जन्मिएका छन् । उनको सेवालाई कम्तिमा सरकारले पहिचान गरिदिए पनि हुने थियो । उनलाई प्राथमिक उपचारको तालिम दिएर गाउँमा एकजना सरकारी प्रतिनिधि बनाइदिएको भए पनि हुन्थ्यो ।




