| मङ्लबार, कार्तिक २४, २०८३

अन्ततः सरुवा भए गोनपाका प्रमुख प्रशासकीय

लामो समयदेखि कार्यालयमा अनुपस्थित भई काठमाडौँ बस्दै आएका गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी अन्ततः सरुवा भएका छन् । विगत दुई महिनादेखि काठमाडौँमा रहेका उनको केही दिनअघि मात्र सरुवा भएको गोरखा नगरपालिकाकी उप–प्रमुख मसलीमाया थोकरले बताइन् ।

‘उहाँको केही दिन अघि मात्र सरुवा भएको छ । आउदो आईतबारसम्ममा नयाँ हाकिमसाब पनि आईपुग्नु हुन्छ होला । त्यसपछि कामले केही गति लिन्छ भनेर आशा छ’, उनले भनिन्, ‘तर पहिलाको हाकिम बिनाजानकारी दुई महिनासम्म काठमाडौँ बसिदिँदा नगरपालिकाको सेवा प्रवाहमा ठूलो असर परेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी काठमाडौं गएर बसिँदिँदा नगरपालिकाको आर्थिकवर्ष २०८१÷०८२ को हालसम्मको प्रगति विवरण शुन्य रहेको उनले बताइन् ।

सुवेदीले २ महिने काठमाण्डौँ बसाइमा विभेदपुर्ण ढङ्गले काम गरेको उपमेयर थोकरको आरोप छ । ‘उहाँले २ महिनासम्म काठमाण्डौँ बस्दा दसैँको बेला तलबभत्ता खाने, खुवाउने कामबाहेक अरु केही गर्नुभएन’, उनले भनिन्, ‘बीचमा आफ्नो मनपर्ने कर्मचारी र जनप्रतिनिधिहरुको काम भने गरिदिनु भयो रे ! मेरो बुझाई त सरकारी कर्मचारीहरु कुनै पनि राजनीतिक पार्टीको हुँदैनन् भन्ने थियो तर, उहाँले पार्टीको कार्यकर्ताजस्तो बनी जे गतिविधि गर्नुभयो त्यसप्रति नगर कार्यपालिका धेरै असन्तुष्ट छ ।’ केही दिनभित्र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै समस्या समाधान हुने उनको विश्वास छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी गैरजिम्मेवार भई कार्यालयमा नबसिदिँदा नगरपालिकाको कार्यप्रगतिमा ठूलो क्षति पुगेको गोरखा नगरपालिकाकी नगर कार्यपालिका सदस्य साबित्रा पुलामी थापाले बताइन् । ‘यो आर्थिकवर्षको तीन महिना बितिसक्यो, नगरपालिकाको हालसम्मको प्रगति शुन्य छ, दसैँको तलबभत्ता खाने र खुवाउने बाहेक अन्य आर्थिक कामकारबाही केही भएको छैन्’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्