| सोमवार, कार्तिक २३, २०८३

कार्यप्रगतिका लागि कर्मचारी परिपूर्ति अपरिहार्य

एकातिर युवाहरुले रोजगारी पाएका छैनन् । पढालेखा युवाहरु पनि लामो समयदेखि बेरोजगारी हुनु परेपछि विदेशिन बाध्य छन् । अर्कातिर सरकारी कार्यालयहरुमा कर्मचारी दरबन्दी खालि छ । दरबन्दी बराबरको कर्मचारी नहुँदा धेरै पदहरु रिक्त छन् । एउटै कर्मचारीले धेरैतिरको काम सक्नु पर्ने अबस्था छ ।

यसको प्रमाण हेर्ने हो भने आरुघाट गाउँपालिकाको दृश्य हेरे पुग्छ । गाउँपालिकामा १० वटा वडाहरु छन् । तर वडा सचिवको संख्या जम्मा तीन । तीनजना सचिव र एकजना स्वास्थ्यकर्मीले १० वटा वडाको सचिवको काम सम्हालिरहेका छन् । एउटा वडामा एकजना सचिवले काम गर्दा पनि दिनभरि ब्यस्त रहने गरी काम हुन्छ । तर एउटा सचिवले दुई वा तीनवटा वडाहरुको काम गरिरहनु परेको छ । यसरी काम गर्दा कार्यप्रगति अपेक्षित हुन सक्दैन ।

आरुघाट गाउँपालिकाको मात्र होइन, गोरखाका अधिकांश पालिकाहरुको अबस्था यही हो । पञ्जिकरणको काम सरकारी स्थायी कर्मचारीबाहेक अरुले गर्न नमिल्ने प्रावधान छ । त्यसैले इञ्जिनियरिङ शाखा, स्वास्थ्य शाखाका कर्मचारीहरुले आफ्नो काम सम्हालेर पनि वडासचिवको काम सम्हाल्नु परेको छ । यसो गर्दा एकातिर कर्मचारीलाई कामको लोड, अर्कातिर कामको अपेक्षित प्रगति हुन सक्दैन ।

पालिकाको कार्यप्रगति कम हुनुको मुख्य कारणमध्य एउटा कर्मचारी दरबन्दी रिक्त रहनु पनि हो । यो अबस्था बारे अरुहरु त जानकार छन्, सरकार स्वयं जानकार नहुने कुरै भएन तर, थाहा पाए पनि नपाएझै गरी, सुने नि नसुने झै गरी, जाने पनि नजाने झैं गरी बसेको अबस्था हो । बरु आफ्नाहरुलाई करारमा राखेर काम गराइरहेको अबस्था छ ।

करारका कर्मचारीले वडा सचिवले गर्ने काम गर्न मिल्दैन । करारका कर्मचारीका लागि पालिकाको ढुकुटीबाट योगदानचाहिँ भइरहेको छ, तर वैध रुपमा उनीहरुले काम गर्न मिल्दैन । त्यसैले बेरोजगारी समस्या घटाउन, पालिकाको कार्यप्रगति देखाउन, कामलाई सहज गराउन वडा सचिव दरबन्दीमा जनशक्ति पूर्ति गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्