| मङ्लबार, कार्तिक २४, २०८३

बरदान बनेको लामोपुल आर्थिक आधार बन्दै

आरुघाट गाउँपालिका ३ देउरालीका बासिन्दालाई त्यही पारिपट्टिको स्वाँरागाउँ पुग्न तीनघण्टा उकालो, ओह्रालो गर्नुपर्दथ्यो । बिहान सातबजे खाना खाएर जलकुमारी मावि पढ्न हिँडेका स्थानीय विद्यार्थी विद्यालय पुग्दा नपुग्दै भोकाइसक्थे ।ज्वारो आयो भने गाउँमा न नाप्ने थर्मोमिटर थियो, न खाने सिटामोल । एकपत्ता सिटामोल र एक पाकेट जीवनजल लिन स्वाँरा गाउँघर क्लिनिक पुग्न पनि डँडेले खोला झरेर नेवट उक्लिन चार पाँच घण्टासम्म लाग्थ्यो ।

बर्खाका बेला खोलामा बाढी र पहिरो आएपछि त सबै असम्भव । दैनिक उपभोग्य सामान लिन आर्खेत जान पनि डँडेले खोला नतरी उपाय थिएन । पारि स्वाँरा, नेवटसम्म एकहजार रुपैयाँमा पाइने सरसामान देउराली वा ठाँटी आइपुग्दा सामानको जत्तिकै ढुवानी भाडा तिर्नुपथ्र्यो । ठाँटीका बासिन्दा स्वाँरा जानुपर्दा देउराली पारिभित्ताको बाटो चारपाँच घण्टा पैदल हिँड्थे ।

दुईबर्षअघि माघमा देउराली र नेवट जोड्ने गरी डँडेलेखोला पुल बनेपछि स्थानीयका तमाम समस्या समाधान भयो । अहिले देउराली, ठाँटीका बासिन्दा ६ मिनेटमा डँडेलेखोला तर्छन् । २० मिनेटमा स्वाँरा पुग्छन्, जहाँ माध्यमिक विद्यालय छ, गाउँघर क्लिनिक छ, सरसामान झिकाउन सडक छ । २०७९ माघमा त्यहाँ ३८१ मिटर लामो झोलुंगे पुल बन्यो । जिल्लाकै सबैभन्दा लामो र सबैभन्दा अग्लो झोलुंगेपुल बनेपछि काम परेर वारपार गर्न मात्र नभै रमाइलो लागेर भ्रमण गर्ने उद्देश्यले पनि मान्छेहरु आउन जान थालेका छन् ।

पुलले दिएको खुशी सुनाउँदै देउरालीका स्थानीय इन्द्रबहादुर थापा मगर भन्छन्, ‘हामी एकदमै बिकटमा बसेको, दुखले हुर्किएको मान्छे हो । २०६४/०६५ सालतिर थुमी भन्ने ठाउँमा स्कूल पढ्न जानुपथ्र्यो । घरबाट बिहान सात बजे ढिँडो खाएर उ त्यो पारि पुलजीपसम्म पुग्दा नै भोक लागिसक्थ्यो । कसैकसैले यहाँ पुल बन्छ अरे भनेर सुनाउँथे । यो त एकदम असम्भव कुरा हो भनेर हामी पत्याउँदैनथ्यौँ । तर अहिले हाम्रै आँखा अगाडि पुल बन्यो । हामी असाध्यै खुशी छौँ । ग¥यो भने जे पनि सम्भव हुने रहेछ ।’
यस्तैखुशी ठाँटीका बासिन्दा पनि छन् । पुल नहुँदा उनीहरु हिँड्ने अर्कै बाटो थियो । त्यो बाटो स्वाँरा पुग्न चारपाँच घण्टा लाग्थ्यो । ‘उकालो ओह्रालो धेरै भएर बिरामी पर्दा पारि जान पनि नसकिने थियो । गाउँमा दुई कक्षासम्म मात्र थियो । साना साना बच्चालाई तीन कक्षाबाट माथि पढाउन स्वाँरा पठाउन पनि असाध्यै गाह्रो थियो । अहिले पुल बन्यो । अहिले त डेढ घण्टामै आउन जान सकिन्छ’, ठाँटीकी कविता गुरुङ भन्छिन्, ‘बर्खाको बेलामा त वारिपारि गर्न पनि नसकिने । कोशेली बोकेर घर माइत गर्न पनि नसकिने । पुल बनेपछि जता जान पनि सजिलो भएको छ । हामी एकदम खुशी छौँ ।’

काम हुने मात्र होइन, अनन्दका लागि पनि पुल सहयोगी बनेको छ । ‘पुलमा आउने सेल्फी खिच्ने, गर्मीका बेला साँझतिर टहलिन आउने, घरको काम, खेतबारीको काम सकेर सुस्ताउन आउने ठाउँ पनि बनेको छ’, स्थानीय इन्द्रबहादुर थापा मगर भन्छन्, ‘यहाँ पुल बनेपछि मान्छेहरुको जमघट हुन थाल्यो । यस्सो चिसो, फास्टफुडहरु, चाउचाउ, चटपटहरुको राम्रै व्यापार हुन्छ । सिजनका बेला एकजनालाई काम पुगिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्