| मङ्लबार, कार्तिक २४, २०८३

१० वटा वडाको जिम्मेवारी तीन सचिवले सम्हाल्दै

प्रतीक्षा आले मगर ।
देशमा बेरोजगारीको चरम समस्या छ । पढेर रोजगारी नपाएका युवाहरु विदेशतिर पलायन भइरहेका छन् । तर वडा सचिवको दरबन्दीमा सरकारले कर्मचारी भर्ना नगर्दा अधिकांश वडा कार्यालयहरु वडा सचिवविहिन बनेका छन् । १० वटा वडा रहेको आरुघाट गाउँपालिकामा जम्मा तीन जनामात्र वडासचिव छन् । तीन सचिवले १० वडा धान्दै आइरहेको गाउँपालिकाले जनाएको छ ।

कर्मचारी अभावका कारण आरुघाट गाउँपालिकामा एउटै सचिवले २–३ वटा वडाहरु हेर्नुपर्ने अवस्था र्सिजना भएको हो । पालिकाका सूचना अधिकारी विवेक खनालका अनुसार कर्मचारीहरु काज सरुवा गरेर जाने हुँदा समस्या निम्तिएको हो । ‘कर्मचारीहरु काज सरुवा गरेर जानुहुन्छ, त्यसरी जाँदा पालिकाले फिर्ता माग्दा पनि फिर्ता गराउन सक्दैन’, उनले भने, ‘कर्मचारीहरु सहरी सुगम ठाउँमा मात्र जान खोज्ने हुँदा ग्रामीण दुर्गम भेगमा समस्या देखिएको हो ।’

१० वटा वडा तीन जना सचिवले हेरिरहेका छन् । जसमा एकजना पशुसेवाको कर्मचारी वडा सचिवको जिम्मेवारी पनि सम्हालिरहेको सूचना अधिकारी खनालले जनाए । ‘वडा सचिवहरु ३ जना मात्र सामान्य प्रशासनको हुनुहुन्छ । अर्को १ जना पशुसेवाको हुनुहुन्छ, उहाँले पनि ३ वटा वडाहरु हेर्नुहुन्छ’, उनले भने, ‘सबै वडामा वडासचिव नहुँदा जनतालाई सास्ती छ ।’

‘हाल ४ जनाले सचिवहरुले २–३ दिन पालो गरेर काम गरि रहनु भएको छ, केही इमरजेन्सी परे आएर जाने पनि गर्नुभएको छ’, उनले भने, ‘अन्य सामान्य कामहरु अरु कर्मचारीले हेरेपनि दर्ता सम्बन्धी कामहरु भने चौँथो तहकै कर्मचारीले गर्नुपर्ने हुन्छ, त्येसैले पनि कहिलेकाँही समस्या हुने गरेको छ ।’ एकजना कर्मचारी बिदामा बस्दा २–३ वटा वडाका जनताहरुको काम प्रभावित हुने गरेको उनले बताएका छन् ।

पालिकाले प्रदेशसँग ४ जना चौँथो तहको कर्मचारी माग गरिसकेको उनले जनाए । कर्मचारीको पदपूर्ती भएसँगै समस्या हट्ने उनको भनाई छ । आरुघाटसँगै जिल्लाका अन्य पालिकाहरुको अवस्था पनि उस्तै छ । कर्मचारी अभावका कारण स्वास्थ्यकर्मी र इन्जीनियरको भरमा वडा कार्यालयहरु संचालन गर्नुपरेको उनीहरुको गुनासो छ । स्थानीय तहहरुले कर्मचारी पदपुर्तिका लागि प्रदेशसँग माग गरेका बताएका छन् । आर्थिक वर्ष २०८१/८२ भित्र सबै ठाउँमा कर्मचारी पदपुर्ती हुने उपेक्षा पालिकाहरुको छ ।

प्रतिक्रिया दिनुहोस्