
सेवाग्राहीहरुको चाप बढेपछि पालिकाहरुलाई बार अनुसारको सेवा
राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरुको चाप बढेपछि प्रशासन कार्यालयले पालिकाहरुलाई बार छुट्टाएर सेवा दिन थालेको छ । दसैँ तिहार लागेसँगै सेवाग्राहीहरुको चाप बढेकाले कार्यालयले परिचयपत्र दर्ता र वितरणका लागी पालिका अनुसार बार छुट्टाएको हो ।
‘हाल दसैँ तिहार मनाउन जिल्ला आउनेहरुको क्रम जारी छ त्यसैले पनि कार्यालयमा परिचयपत्र दर्ता गर्न र लिन आउनेहरुको भीड बढेको छ’, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘भीड व्यवस्थापन गर्नका लागि हामीले पालिकाहरुलाई बार छुट्याएर सेवा दिन थालेका हौँ ।’ तिहार लगतै भीडभाड कम हुन थालेपछि पहिला जस्तै सबै पालिकाबासीहरुलाई सबै कार सेवा दिने उनले बताएका छन् ।
प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आईतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाबासीहरुले परिचयपत्र दर्ता र वितरणको सेवा प्राप्त गर्ने छन् । यस्तै, मंगलबार र बुधबार पालुङटा नगरपालिका, सिरानचोक, गण्डकी र धार्चे गाउँपालिकाकाबासीहरुलाई मात्र परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिनेछ । बिहीबार र शुक्रबार भने भिमसेनथापा, अजिरकोट र शहिदलखन गाउँपालिकाकाबासीहरुले सेवा प्राप्त गर्नेछन् ।
यसअघि असारमा पनि परिचयपत्र लिने सेवाग्राहीकरुको चाप बढेपछि प्रशासनले सूचना जारी गर्दै पालिकाहरुलाई बार अनुसार सेवा प्रवाह गरेको थियो । बीचमा सेवाग्राहीहरुको चाप घटेपछि सबैजनालाई सबै बार सेवा दिएकोमा पुन पहिलाकै नियम लागु गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।




