
अजिरकोटमा प्लास्टिकका भाँडा विक्री वितरण र प्रयोगमा रोक
अजिरकोट गाउँपालिकामा प्लास्टिकका थाल, गिलास लगायतका भाँडाको बिक्री वितरण र उपभोगमा रोक लगाइएको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य भाँडाहरुको बिक्री वितरण कार्य रोक्न तथा उपभोग समेत नगर्न पालिकावासीलाई आग्रह गरेको छ ।
स्थानीय रुपमा उत्पादन हुने सालका पातका टपरीको प्रयोगलाई बढावा दिनका लागि सो निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘एक त प्लास्टिकजन्य पदार्थहरुले मानव जीवन तथा वातावरणमा नकरात्मक असर पार्छ,’ उनले भने, ‘अर्काे त्यस्ता खालका पदार्थहरु भित्रिदा स्थानीय वनमा उत्पादन हुने साल तथा अन्य बोटबिरुवाका पातहरुबाट निर्माण गरिने टपरीजन्य वस्तुहरु विस्थापित हुने भयो ।’
प्लास्टिकजन्य भाँडाको प्रयोग बढ्दै गएकाले निरुत्साहित गर्न विक्री वितरण तथा उपभोगमा रोक लगाइएको उनले जानकारी दिए । सालको पातको दुना टपरी निर्माण सम्बन्धी तालिम पनि संचालन भइसकेको पालिकाले जनाएको छ । स्थानीय उत्पादनले नपुगेको खण्डमा दुना टपरी आयातका लागि पालुङटार नगरपालिकासँग सम्झौता समेत भइसकेको पालिका अध्यक्ष देवकोटाले बताए । १५ दिनभित्र प्लाष्टिजन्य भाँडाको विक्री वितरण र उपभोग रोक्न भन्दै पालिकाले गत असोज २२ गते सूचना प्रकाशन गरेको थियो ।




