| सोमवार, कार्तिक २३, २०८३

दशैंपछि गाउँ रित्तिने क्रम उस्तै

दशैं आयो, देश–विदेश, सहरबजारतिर काम विशेष, पठनपाठनका लागि गएकाहरु फर्किए । बालबालिकाहरुले गाउँ भरिभराउ भयो । केटाकेटी खेले, रमाए, हल्लाखल्ला गरे, चकचक गरे, बालबिज्याईँ गरे । बालबालिकाको आगमनसंगै ‘रमाइलो’ गाउँभित्रियो । ‘उल्लास’, ‘आनन्द’, खुशीयाली गाउँ प्रवेश ग¥यो । एक हिसाबले हेर्दा गाउँमा ‘लक्षिन’ पस्यो ।

तर जब दशैं गयो, तब बालबालिकाहरु फेरि गाउँठाउँबाट फिर्ता भए । फेरि गाउँघर सुनसान हुन थाल्यो, चकमन्न भयो । खुशीयालीले भरिएका गाउँघरका बुढापाकाका मुहारमा फेरि उदासका रेखाहरु देखिन थाले । उनीहरुले टेकेका पाइलाहरु, उनीहरु खेलेका पिङहरु हेरेर दिन बिताउन थाले ।

आरघाट गाउँपालिका ३ स्याम्राङ गाउँकै उदाहरण दिएर भन्नुपर्दा १२० घरधुरी रहेको त्यहाँ अहिले २० जना बालबालिका मात्र बाँकी छन् । अरु सबै बाबुआमाको पछि लागेर पढ्न सहर पसिसके । यो अबस्था स्याम्राङको मात्र होइन, देशभरका सबै गाउँठाउँको हो । अहिले गाउँठाउँमा बालबालिका छैनन् । उनीहरु गाउँठाउँबाट सहर पसेपछि गाउँठाउँका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । कैयौँ विद्यालय स्तर घटुवा भएका छन्, कैयौं विद्यालय मर्जर भएका छन् ।

नजिकै अर्को विद्यालय हुने ठाउँबस्तीका बालबालिका त नजिकैको अर्को विद्यालयमा जालान्, तर गाउँ नजिक अर्को गाउँ, अर्को विद्यालय नभएको ठाउँका बालबालिका पढ्नबाट बञ्चित भएका छन् । यसको उदाहरण धार्चे गाउँपालिका ७ को ठाँटी गाउँ हो । त्यहाँ कक्षा २ सम्म सञ्चालित विद्यालय पनि तह घटुवा भएर शिशु कक्षा मात्र रहेको छ । अब त्यहाँबाट कक्षा १ मा पढ्ने बालबालिका पनि तीनघण्टा हिँडेर स्याम्राङ जानुपर्ने बाध्यता छ ।

यस्तो अबस्थाको अन्त्य गर्ने तरिका एउटै छ, स्थानीयबासीलाई गाउँमा रहने वातावरण बनाउने । बालबालिकाका बुबाआमालाई रोजगारीको सिर्जना गर्ने, गाउँबाट बाहिरिन बाध्य नपार्ने, अनि गाउँठाउँका विद्यालयमा स्तरीय पठनपाठनको व्यवस्था भयो भने बालबालिका पनि गाउँमै रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्