
मनास्लुको चार लाख किलो स्याउ गोदाममै थन्कियो
मनास्लु क्षेत्रलाई अर्गानिक स्याउ उत्पादन केन्द्र बनाउने उद्देश्यले व्यवसायीहरुले ठूलो परिमाणमा स्याउ खेती सुरु गरे । गण्डकी प्रदेश सरकारको सहयोगमा चुमनुब्री गाउँपालिकाका लाक्पा ढुण्डुप लामा, छिरिङ लामा, सरोज लामा, लाङ्बा गुरुङ, पातीकान्छा, देवेन्द्र गुरुङ, विष्णु गुरुङले हजारौँ रोपनीमा स्याउ खेती गरे ।
उत्पादन सुरु भएको तीनबर्ष भइसक्यो, तर ढुवानी गर्न नसकेर बर्सेनि गोदाममा नै स्याउ थन्किने गरेपछि उनीहरु चिन्तित भएका छन् । सफल व्यवसाय गरी यस क्षेत्रका अरु किसानलाई पनि अर्गानिक स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले उनीहरुको ठूलो लगानी गरेका थिए । तर उत्पादित स्याउ गोदाममै थन्किने गरेको व्यवसायी लाक्पाडुण्डुप लामाले निराशा व्यक्त गरे ।
प्रोकका लाक्पाले १२ हजार पाँचसय बोट, ल्होका छिरिङले पाँच हजार, लोक्पाका सरोजले ३५० बोट, सिर्दिबासका लाङ्वाले १७००, पातीकान्छाले नौसय, सिर्दिबासकै देवेन्द्रले १७००, आँगाका विष्णु गुरुङले ५०० थान स्याउ खेती गरेका थिए । तर स्याउलाई बजारसम्म लैजान नसकेको किसानहरुको गुनासो छ ।
लाक्पा ढुण्डुपले आफ्नो बगैंचाको १२ बोटको करिब साँढेचारलाख किलो स्याउ घरमै थन्किएको गुनासो गरेका छन् । चुमनुब्री ४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टको स्याउबारीको १२ हजार पाँचसय वटा बोटमा फलेको स्याउलाई उनले चुमनुब्री स्याउ नामाकरण गरेका छन् । उत्साहपूर्वक उत्पादन गरेको स्याउ टिपेर घरमै थन्क्याएर राख्नुपर्दा निराश बनाएको लामाले जानकारी दिए ।
‘हाम्रो गाउँपालिकामा मोटरबाटो छैन त्यसैले, स्याउ ढुवानी गरेर बजार पु¥याउन नसकिएको हो’, उनी भन्छन्, ‘मनास्लु क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकाले हेलिकोप्टर चार्टर गरी स्याउ बोक्न पनि समस्या छ । हेलिकोप्टरमा बोक्दा महंगो पनि पर्छ । प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । खच्चडमा बोकाउँदा चोट लाग्ने, बिग्रिने हुन्छ । मान्छेले बोकेर साध्यै लाग्दैन ।’ आफूहरुले स्याउ खेती सुरु गर्दा मनास्लु क्षेत्रमा सडक बिस्तारको काम धमाधम भइरहेको थियो ।
‘तीनबर्षभित्र पक्कै सडक आइपुग्छ अनि, स्याउ ढुवानी गर्न समस्या पर्दैन भन्ने अनुमान गरेर लगानी ग¥यौँ तर, अहिलेसम्म सडक निर्माण पनि भएको छैन । अझै सडक सञ्जालले जोड्न बर्षौ लाग्न सक्ने देखिन्छ’, चुमनुब्री २ स्थित विशाल मनास्लु फार्म तथा अध्ययन केन्द्रका छिरिङ लामा भन्छन्, ‘हामीले स्याउलाई विशुद्ध अर्गानिक बनाउन, गुणस्तरीय बनाउन धेरै लगानी गरेका छौँ । नयाँ पुस्तालाई स्याउखेतीमा आकर्षित गर्न धेरै मिहिनेत गरेका छौँ, तर उत्पादन भएको स्याउ थन्कियो । हामी नै निरुपाय भइयो ।’
मनास्लु क्षेत्रमा आउने पर्यटक, आरोही, स्थानीयबासीहरुलाई करिब एक हजार किलो बेचेको उनको भनाइ छ । स्थानीय बजारमा अहिले खुद्रामूल्य प्रतिकेजी रु ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा बेचिरहेको उनले बताए । बजारसम्म पु¥याउन सके यो वर्ष मूल्य केही समायोजन गरेर बिक्री गर्ने योजना समेत रहेको लामाले बताए ।
स्थानीय स्तरमा नै स्याउको विभिन्न परिकार बनाएर बिक्री गर्ने गरेको उनले बताए । लामाका अनुसार घरायसी प्रयोजनका लागि एप्पलसाइडर, जुस, जाम, सुकुटी जस्ता परिकारहरु बनाएर बिक्री गरेको बताए । यहाँ गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच जातका स्याउ उत्पादन हुने गर्छ ।




