| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजार भ्रमणका केन्द्रहरु विकास गर

असोज लागेदेखि नै आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल सुरु हुन्छ । वाह्य पर्यटकहरु, जो ट्रेकिङका लागि आउँछन्, उनीहरु त भदौदेखि नै आउन सुरु गरेका हुन् । तर यसबर्ष असोज १० गतेसम्म भिषण बर्षा, बाढी, पहिरोले धेरै जनधनको क्षति भयो । यस्तो बेला पर्यटकहरुको गतिविधि कम भयो ।

अहिले भने मनसुन विदा भइसकेको छ । भ्रमणको सिजन सुरु भएको छ । गोरखाबाट पनि घुम्न विभिन्न जिल्ला जाने चलन छ भने विभिन्न जिल्लाहरुबाट गोरखा घुम्न आउनेको चहलपहल बढिरहेको छ । गोरखा एक ऐतिहासिक जिल्ला हो । आधुनिक नेपाल निर्माणको अभियान यहीँबाट सुरु भएकाले यस जिल्लालाई विशेषगरी ऐतिहासिक जिल्ला भनेर चिनिन्छ । त्यसैले यस जिल्लाको महत्व अरु जिल्लाको तुलनामा विशेष छ । यहाँका ढुंगाढुंगामा, थुम्का थुम्कामा जिउँदो इतिहास छ ।

नेपाल निर्माणका क्रममा र भारत कब्जा गरिसकेको ब्रिटिश कम्पनी सरकारको आक्रमणमा नेपाल नपर्ने कुरै भएन । त्यतिबेला गोरखाली फौजले देखाएको वीरता नेपाल सरकारका लागि मात्र नभएर ब्रिटिश सरकारलाई समेत प्रभावित पार्ने खालको थियो । त्यसैले गोर्खाली वीर हुन्छन्, गोरखा वीरहरुको देश हो भनेर विश्वमा चीरपरिचित छ ।

गोरखामा आउने पर्यटक भनेका पनि वीरताको चिनो हेर्नका लागि हो । यहाँको गोरखा दरबार, गोरखा संग्रहालय वीरताको चिनो हुन् । अनि अरु कुन छ ? भीमसेनपार्कको अलिअलि मात्र विकास भएको छ । यहाँ यस्ता विकास गर्नुपर्ने धेरै ठाउँ हुनसक्छन् । ती ठाउँको पूर्वाधार विकास गर्ने, प्रचारप्रसार गर्ने, संरक्षणको वातावरण गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो ।

त्यस्ता ठाउँमा आउने पर्यटकलाई गाइडको व्यवस्था गर्ने, गाइडबाट सत्यतथ्य विषयवस्तु उपलब्ध गराउने जस्ता गतिविधि गर्नु आवश्यक छ । वीरताको चिनोसंग सम्बन्धित भ्रमणगर्ने केन्द्रको विकास गर्नु आजको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्