| मङ्लबार, कार्तिक २४, २०८३

दशैँ गयो, केटाकेटी पनि गए, गाउँ चकमन्न

दशैँ आयो, केटाकेटी आए, गाउँ भरिभराउ भयो । दशैं गयो, केटाकेटी पनि गए, गाउँ सुनसान भयो । आरुघाट गाउँपालिका ३ स्याम्राङको मात्र अबस्था यस्तो होइन । नेपाली गाउँबस्ती सबैतिरको साझा दृश्य हो यो । चाडबाडमा बालबालिकाले गाउँ भरिँदा गाउँको शोभा बढ्ने स्थानीयको भनाइ छ ।

‘दशैं आउँछ, सहरबजारतिर पढ्न गएका केटाकेटीहरु लर्कन लाएर गाउँघर फर्किन्छन् । जताततै बालबालिका खेलेको, गाएको, नाचेको देखिन्छ । बुढाबूढीहरु पनि नातिनातिनासंग हाँस्न, बोल्न, खेल्न पाउँदा दंग हुन्छन् । गाउँघरको रुपरङ नै फेरिन्छ’, स्याम्राङका कुमार गुरुङ भन्छन्, ‘अब दशैं सकियो, केटाकेटी फेरि लर्कन लाएर सहर झर्न थालिसके । अब गाउँघर सुनसान हुन थालिसक्यो । अब फेरि उही चकमन्न ।’

बालबालिका घरको मात्र नभै गाउँकै शोभा भएको भन्दै उनले बालबालिका नहुँदा गाउँको शोभा पनि नभएजस्तो हुने उनको भनाइ छ । कूल ११९ घरधुरी रहेको स्याम्राङमा पाँच कक्षासम्म सञ्चालित आधारभूत विद्यालय छ । त्यहाँ जम्मा २९ जना मात्र विद्यार्थी छन् । गाउँमा बालबालिका संख्या नै कम भएकाले विद्यालयमा कम बालबालिका रहेको प्रधानाध्यापक निरबहादुर खड्काको भनाइ छ ।

नेपालका अरु गाउँमा जस्तै यहाँका बालबालिका पनि सहरमा पढ्न जान्छन् । ‘बुबा कोही जागिरमा जान्छन्, कोही वैदेशिक रोजगारीमा जान्छन् । उनीहरुले बुढा बुबाआमालाई मात्र घरमा राखेर आफ्नी जहान र छोराछोरीलाई सहरमा डेरा गराएर राख्छन्’, स्थानीय मदन अधिकारी भन्छन्, ‘गाउँमा त मेलापात, ज्याला मजदुरी गर्नेका छोराछोरीहरु मात्र पढ्छन् ।’ सयभन्दा धेरै घरधुरी भएको स्याम्राङमा कुनैकुनै घरमा मात्र बालबालिका देख्न पाइने उनको भनाइ छ ।

गाउँ नै मेलापात, ज्याला मजदुरी गर्नेहरुले धानेको वडाअध्यक्ष टेकबहादुर अधिकारीको भनाइ छ । ‘यहाँका प्रायजसो युवाहरु वैदेशिक रोजगारीमा छन् । अलिअलि कमाइ हुनेहरु सके बसाइँ सरेर सहर जान्छन्, नसके पनि डेरा लिएर सहरतिरै बस्छन्’, अधिकारी भन्छन्, ‘गाउँघर त उही खेती किसानी गर्ने, मेलापात गर्ने, ज्याला मजदुरी गर्नेहरुले मात्र धानेर राखेका छन् ।’ यहाँका बालबालिका अधिकांश आरुघाट र आर्खेतमा र केही गोरखा बजार, केही काठमाडौँ, चितवनमा पढ्न बसेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्