| मङ्लबार, कार्तिक २४, २०८३

चेकजाँच नगरी कागजमा मात्र बन्छ पशुपंक्षीको क्वारेण्टाइन प्रमाणपत्र

मेलिना बराम ।
गोरखा कुखुराको मासुका लागि आत्मनिर्भर छ । ठूलो परिमाणमा कुखुरा उत्पादन हुने हुनाले जिल्ला आत्मनिर्भर भएको हो । धार्चे र चुमनुब्रीबाहेक सबै गाउँपालिकाका सबै टोलमा व्यवसायिक कुखुरा पालन गर्न थालिएको छ । बोइलर कुखुराको चल्ला भने जिल्लामा उत्पादन हुदैँन।

विभिन्न डिलरहरुमार्फत कुखुराका चल्लाहरु बाहिरी जिल्लामा गोरखा भित्रिने गर्दछ । ती जिल्ला भित्रिने कुखुराका चल्लाहरु स्वस्थ छन् वा छैनन् भनेर जाँच भने नहुने गरेको पाइएको छ । जिल्लालाई आवश्यक जति पूर्ति गरेर कुखुरा जिल्लाबाहिर पनि निर्यात गरिन्छ । ती कुखुराको पनि क्वारेण्टाइन चेकजाँच नहुने गरेको पाइएको हो ।

बोइलर कुखुराका चल्लाहरु हुर्कनलाई ४० दिनदेखि ४५ दिन लाग्छ । त्यो अवधिमा पनि पोल्ट्रीफर्ममा पुगेर एक पटक पनि कुखुरा रोगी निरोगी भए नभएको जाँच नहुने गरेको कृषक ईश्वर केसीले बताए । आफु कुखुरा कृषक भएता पनि कुखुराको क्वारेन्टाइन चेकजाँच बारे जानकारी नभएको उनले बताए ।

‘यस्तो के चेक भनेको हो अहिलेसम्म चेकजाँच गरेको थाहा पाएको छैन, चल्ला ल्याउँदा पनि कहाँ गर्छ थाहा छैन । बेच्दा पनि कहाँ गर्छ थाहा छैन,’ उनले भने, ‘यहाँ ल्याएर फर्ममा राखे पछि त कुनै पनि चेक जाँच हुदैँन, भएको पनि छैन ।’ कुखुरा सप्लायर्सले पनि फर्ममा चेकजाँच नै नगरी लैजाने गरेको कृषक केसीले बताए ।

‘हामीले चल्ला पनि डिलरबाटै ल्याउने हो । हुर्किएरपछि पनि उनीहरु नै आएर लाने हो,’ उनले भने, ‘कुखुरा लाने बेला पनि खै ! कुनै जाँच भएको थाहा पाएको छैन ।’ आफ्नो मात्र नभई अन्य फर्महरुमा पनि क्वरेन्टाइन चेक हुन्छ भन्नेबारे जानकारी नभएको उनको भनाई छ । ‘मलाई लाग्छ मेरो मात्रै हाइन होला सायद कुनै पनि फर्ममा यस्तो चेक हुदैँन’ उनले भने ।

अर्की कृषक मिना थापाले अहिलेसम्म कुखुराको क्वारेन्टाइन चेक भनेको के हो भन्नेबारे जानकारी नै नभएको बताएकी छिन् । बिगत तीन वर्षदेखि उनले कुखुरा पालन गर्दै आएकी छिन् । यतिको अवधिमा रोग लागेको बेला बाहेक अन्य समयमा क्ुनै चेक नहुने गरेको थापाले बताएकी छिन् । ‘हामीलाई त क्वारेन्टाइन चेक भनेको नै थाहा छैन, कुखुरालाई रोग लागेर मरेको बेलामा साहुले आएर कुखुरा चितवन पठाइदिनु हुन्छ,’, उनले भनिन्, ‘बेलाबेला कुखुरालाई यो रोग लागेको छ भने औषधी पठाइदिनु हुन्छ । दुईतीन वर्ष भयो कुखुरा पाल्न थालेको नि । कुखुरा ल्याउँदा पनि बेच्दा पनि क्वारेण्टाइन चेकजाँच गरेकोचाहिँ थाहा पाएको छैन ।’

डिलरले कुखुरा लैजाने बेला पनि क्वारेन्टाइन चेकबिना नै लाने गरेको उनले बताइन् । ‘कुखुरा हुर्किएपछि उहाँहरु लिन आउनु हुन्छ, लैजाने बेला पनि त्यस्तो कुनै चेक गरेको थाहा पाएको छैन क्यारे ! आजको दिनसम्म त,’ थापाले भनिन्, ‘हामी थोरै थारै पाल्ने भएर होकि त चेक गर्न नआएको, खै कुन्नि त नि के हो ?, यस्तो के क्वारेन्टाइन चेक गरेको भन्नी त थाहा पाएको छैन ।’ अरु बेला खोरका कुखुरा बिरामी परे एग्रोभेटमा ल्याएर चेक गराउने गरेको उनले बताइन् ।

उत्तम सप्लार्यसका कुखुरा डिलर उमेश कुँवरले रोग लागेको खण्डमा मात्रै कुखुराको क्वारेन्टाइन चेक हुने बताएका छन् । त्यसबाहेक चल्ला ल्याउने बेला कुखुरा उत्पादन गर्ने ठाउँ (ह्याचारी)का डक्टरहरुले चेकजाँच गरेर ल्याउने गरेको उनले बताए । ‘चल्ला ल्याउँदैमा उतैबाट ह्याचारीकै डक्टरहरुले क्वारेन्टाइन चेक गरेर पठाउँछन्,’ उनले भने, ‘सधै चेकजाँच गर्नलाई समय नि मिल्दैन । रोग लागेको खण्डमाचाहिँ कुखुराको खोरमा नै पुगेर भेटनरी डक्टरले चेक गरिन्छ ।’

जिल्लाबाट कुखुरा बाहिर पठाउनु अघि २४ घण्टाका लागि क्वारेन्टाइन चेक गरेर पठाउने गरेको उनले जानकारी दिए । गोरखाबाट कुखुरा बाहिर पठाउनु परेको खण्डमा भेटेनरी डाक्टर जीवन पोखरेलले चेक गरेर पठाउने गरेको कुँवरले बताए । ग्रामीण भेगमा व्यवसायिक कुखुरा पालन गर्नेहरुलाई फोनमार्फत कुखुराको स्वास्थ्य अवस्था सोध्ने गरेको उनले जानकारी दिए ।

‘यहाँ नजिक नजिकको त फर्ममा नै पुगेर चेक गरेर कुखुरा बाहिर पठाइन्छ,’ उनले भने, ‘ग्रामीण भेगतिर पालेका कुखुराहरुको चाहिँ फर्ममा पुग्न गाह्रो हुन्छ । ३–४ घण्टा लाग्छ । फोनमार्फत नै सोधेर ठिक छ भनेर क्वारेण्टाइन प्रमाणपत्र बनाइन्छ ।’ रातीको समयमा मात्रै कुखुरा ढुवानी गरिन्छ । दिउँसो घाम लाग्ने भएकाले तापक्रम बढेर कुखुरा मर्न सक्ने भएकाले रातीमा ढुवानी गर्ने गरेको उनले बताए । कुखुरा लैजाँदा बाटोमा खैरेनी प्रहरी चौकी लगायत ठाउँ ठाउँमा पनि क्वारेन्टाइन चेकजाँचको प्रमाणपत्र चेक हुने उनले बताएका छन् ।

यस्तै अर्का कृषक एवम व्यवसायी विष्णु खड्काले गोरखामा पशुपञ्छीको क्वरेन्टाइन चेक गर्ने भेटेनरी डक्टर भएको बारे आफुलाई जानकारी नभएको बताए । आफुले पालेका कुखुराको क्वारेन्टाइन चेक भने ह्याचारीबाट खटिएको टोलीले गर्ने गरेको बताएका छन् । ‘हाम्रो फर्ममा रहेको कुखुराको क्वारेन्टाइन चेक हुन्छ, ह्याचारीबाटै पठाएको डक्टरहरुले आएर चेक गर्छन्,’ उनले भने, ‘तर, गोरखाकै भेटेनरी डक्टरले भने अहिलेसम्म आएर चेक गरेका छैनन् । गोरखाका कुखुराको क्वारेन्टाइन चेक गर्ने भेटेनरी डाक्टर छन् कि छैनन् भन्ने नै थाहा छैन ।’

भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइरालाले दर्तावाल पशु चिकित्सकहरुले पशुपंक्षीको क्वारेन्टाइन चेक गर्ने बताए । पशुपञ्छी जिल्ला बाहिर पठाउने बेला दर्तावाल पशु चिकित्सकले भेटेनरी पशु स्वास्थ्य प्रमाण पत्र बनाई दिने गरिन्छ । पशुपञ्छीको स्वास्थ्य अवस्थाबारे फर्ममा पुगेर चेक हुनु पर्ने हो ।

उनका अनुसार पशुपञ्छी बाहिरी जिल्ला पठाउने बेला सप्लायर्सहरुले गाडीमा लोड गरेर पशु चिकित्सक कहाँ लगेर क्वारेण्टाइन चेकजाँच गरी प्रमाण पत्र लिएर जाने गरेको बताए । ‘सम्भव हुनेहरुको फर्ममै जानु हुन्छ, नत्र भने कृषकहरुको फर्मबाट कुखुरा गाडीमा लोड गरेर पशु चिकित्सककहाँ लगेर देखाइन्छ,’ उनले भने, ‘उहाँहरुले त्यहीँ हेरेर चेक गरेर प्रमाण पत्र बनाएर पठाइदिनु हुन्छ ।’

अहिले पालिकाहरुमा पनि पशु चिकित्सक राख्ने व्यवस्था रहेको उनले जानकारी दिए । गोरखा सदरमुकाममा एग्रोभेट सञ्चालन गर्दै आएका पशु चिकित्सक जीवन पोखरेलले पसलमा नै बसेर पशुपञ्छीको स्वास्थ्य अवस्था चेकजाँच गर्ने गरेको बताएका छन् । ‘कुखुरा, भैंसी, बाख्रा लोड गरेर ल्याएका गाडीहरु पसल अघि ल्याएर तेर्साउछन्,’ उनले भने, ‘म चेक गरेर निरोगिताको सर्टिफिकेट बनाएर पठाईदिन्छु ।’ कृषकलाई आर्थिक भार पर्ने भएकाले फर्ममै पुगेर स्वास्थ्य अवस्था जाँच गर्न सम्भव नभएको उनले बताएका छन् ।

‘एक हजार पन्द्र सय कुखुरा पालेका हुन्छन्, गाउँतिर हो भने झनै गाह्रो । त्यति कुखुरा जाँच्नलाई तीन चार घण्टाको पैदल हिँडेर जानुपर्छ,’ उनले भने, ‘कृषकहरुले पनि त्यति कुखुराको लागि भेटेनरी खर्च डक्टरको खर्च कसरी धान्न सक्छन् र त । त्यसैले नियममात्र हेरेर हुदैन, व्यवहारिकता पनि हेर्नुपर्छ ।’ गण्डकी प्रदेशले आबुँखैरैनीमा क्वारेन्टाइन चेक पोष्ट स्थापना गरेको छ । जिल्ला भित्रिने तथा बाहिरीने सबै पशुपञ्छीको इन्ट्री त्यहीँ हुने गर्छ ।

त्यहाँ स्वास्थ्य अवस्था चेकजाँच भन्दा कुखुराको गणना हुने गरेको उनको भनाइ छ । ‘कुखुराहरु त ल्याउँछन्, म चेक पनि गर्छु । चल्लाको हकमाचाहिँ आजसम्म चेक गरिएको छैन,’ उनले भने, ‘सप्लार्यसहरुले कताबाट ल्याउँछन्, चेक गरेर ल्याएको त हुन्छ होला तर जिल्लामा ल्याए पछि चाहिँ चल्लाहरु रोगी निरोगी छन् छैनन् भनेर चेक गराउन ल्याउँदैनन् ।’

आबुँखेरेनीको क्वारेन्टाइन चेक पोष्टमा चल्लाको कार्टुन, कुखुरा र पशु बस्तुको संख्या तथा पशु चिकित्सकले हस्ताक्षर गरेको पशु स्वास्थ्य प्रमाण पत्र भने हेरिने उनले बताए । ‘पशुपञ्छी बोकेँको गाडीदेखि लिएर कति संख्यामा ल्याएको प्रमाण पत्रमा हेरेर नै उहाँहरुले पठाउने गर्नु हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्