
दशैँ मनाउन आउनेहरुले भरियो गोरखा बजार, गाउँ जानेहरु गाडी नपाएर सडकमै अलपत्र
यतिबेला चारैतिर दशैँको रौनक छाएको छ । अघिपछि सुनसान जस्तै बन्ने गोरखा बजार हाल दशैँ मनाउन आउनेहरुले भरिभराउ छ । व्यापारीहरुलाई सामान बिक्री वितरण गर्न भ्याइ नभ्याइ छ । त्यस्तै भ्याइनभ्याई छ चितवनको शक्तिखोर बस्ने रमिला गुरुङलाई आफ्नो जन्मथलो आरुपोखरी फर्कन ।
वर्षमा एकपटक दशैँको बेला माइती गाउँ (आरुघाट गाउँपालिका–७, आरुपोखरी) आउने उनी ३ घण्टादेखि सदरमुकाम स्थित घ्याम्पेशाल बसपार्कमा बसको पर्खाइमा छिन् । मंगलबार बिहान करिब ९ बजेतिर गोरखा बजार आइपुगेकी उनी दिउँसो १२ बजेसम्म घ्याम्पेशाल बसपार्कमै गाडी कुरेर बसिरहेकी थिइन् ।
‘अब त अत्ति नै भइसक्यो, जे आउँछ त्यसैमा चढेर जान्छु’, उनले भनिन्, ‘वर्षमा एकचोटी मात्र आउन पाउँछु त्यसैले मलाई त घर जान हतार भइसक्यो । गोरखा बजार पुरै चाहारेर भ्याइसकेँ । अलिअलि सपिङ पनि गरेँ । अझै पनि गाडी पाएको छैन । जे आउँछ त्येसैमा झुन्डेरै भएपनि जाने बिचार गरेकी छु ।’ आफ्नो परिवार माइती भेट्न पाउँदा निकै खुशी उत्साहित भएपनि यातायातको व्यवस्था सहज नहुँदा आवतजावतमा भने निकै सास्ती खेप्नु पर्ने उनी बताउँछिन् ।
गुरुङ मात्र होइनन्, घ्याम्पेशाल बसपार्कमा उनी जस्तै सयौँ मानिसहरु दशैँमा घर र्फकनका लागि गाडी कुरेर बसिरहेका छन् ।
आरुघाट पुग्नुपर्ने नानीमाया थापा पनि घ्याम्पेशाल बसपार्कमा गाडी कुरिरहेकी छिन् । पढाइ र रोजगारीको शिलशिलामा काठमाडौँ पसेकी उनी वर्षको एकपटक आफ्नो जन्मथलो आईपुग्दा निकै हर्षित् छिन् ।
‘गोरखा बजार झरेपछि भने बल्ल मलाई दशैँ आको जस्तो अनुभव भयो, आफ्नो जिल्ला, आफ्नो गाउँ ठाउँ जस्तो अन्त कहाँ हुन्छ र ? बाहिर जे जति दुख गरेपनि वर्षमा एकपटक आफ्नै गाउँ आएर दशैँ मनाउछु’, उमंग सहित थापाले भनिन् ।
केही ठुलो झोला र हातमा एउटी नानी डोहो¥याएका नाम्जुङ्गका प्रकाश लामिछाने पनि निकै बेरदेखि हरमटारीमा अल्मलिएका छन् । दशैँको किनमेल गर्न सदरमुकामसम्म आइपुगेका उनी दशैँको उमंग सहित भन्छन्, ‘अरुबेला पनि बजारमा यत्तिकै चहलपहल भइदिए कति राम्रो हुने थियो होला है ? दशैँको समय छ, रमाइलो त लागेको छ तर साथमा बच्चा छ । घर कसरी फर्कने पिर लागेको छ ।’
चाडपर्वका बेला सार्वजनिक यातायातहरुको भने मनपर्दी चलेको उनी बताउँछन् । ‘चाडवाड लागेको छ, साना गाडीहरुले मनपर्दी भाडा असुल गरेका छन्’, उनले भने, ‘ठुला गाडीहरुले भने क्षमताभन्दा दोब्बर या झन्डै तोब्बर यात्रु हालेर सर्वसाधरणहरुलाई सास्ती दिएका छन् ।’ अहिले सबै बसहरुले दुइटामा अट्ने यात्रु एउटैमा कोचेर यात्रा गराइरहेका उनले बताएका छन् ।
हाल घ्याम्पेशाल बसपार्कस्थित टिकट काउन्टरका सबै टिकटहरु बिक्री भइसकेको अवस्था छ । दरौँदी यातायात कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार काठमाडौँबाट जिल्ला भित्रने यात्रुहरुको सङ्ख्या अत्याधिक भएकाले कम्पनीले अधिकांश गाडीहरु राजधानी पठाएको छ ।
जसका कारण अन्य ठाउँहरुबाट आउने यात्रुहरुलाई अलि गाह्रो भएको हुनसक्ने उनले बताएका छन् । ‘दशैँमा जिल्ला बाहिरीनेहरु सुन्य छ भनेपनि हुन्छ, धेरैजसो काठमाडौँबाट आउनेहरु नै छन् । गाउँजाने बसहरु काठमाडौँबाटै प्याक भएर आउने हुँदा अन्य ठाउँबाट आएका यात्रुहरुलाई मर्का परेको हुनसक्छ । तर, हामीले त्यसलाई मिलाउने कोसिस गरिरहेका छौँ’, उनले भने ।




