
एम्बुलेन्स संचालकद्वारा सर्कुलर उल्लंघन
प्रतिक्षा आले मगर ।
एम्बुलेन्सलाई व्यवस्थित बनाउने व्यवस्थापन समितिको बारम्बारको सर्कुलर एम्बुलेन्स सञ्चालकहरुले उल्लंघन गर्ने गरेका छन् । एम्बुलेन्स व्यवस्थापन समितिको पटक पटकको सर्कुलर कार्यान्वयन नहुँदा जिल्लाका एम्बुलेन्सहरु मापदण्डबिना चलिरहेका छन् ।
दोस्रोपटक छ महिनाअघि मात्र प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा रहेको समितिले प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स सञ्चालनसम्बन्धी मापदण्ड स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्सहरुलाई सर्कुलर गरेको थियो । त्यसअघि दुईबर्षअघि पनि सोही व्यहोराको सर्कुलर गरेको थियो । तर अहिलेसम्म मापदण्ड कार्यान्वयन हुन नसकेको हो ।
मापदण्ड पूरा गर्न नसक्ने सवारी साधनलाई ‘एम्बुलेन्स’ नभनी ‘बिरामी बोक्ने सवारी साधन’ लेखी संचालन गर्न निर्देशन दिएको थियो । तर अधिकांश एम्बुलेन्सहरुले सो निर्देशनको पालना नगरेको पाइएको छ । केही एम्बुलेन्सहरुले ‘बिरामी बोक्ने सवारी साधन’ लेखी संचालनमा ल्याएको र अधिकांशले नियम पालना नगरेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए ।
‘व्यवस्थापन समितिको नीतिअनुसार त एम्बुलेन्सका रुपमा सञ्चालन हुने साधन सुविधायुक्त हुनुपर्ने, त्यसभित्र कम्तिमा एकजना नर्स अनिवार्य हुनुपर्ने, पिपिई, अक्सिजन लगायत उपकरण र प्राथमिक उपचारका औषधीहरु हुनुपर्ने उल्लेख छ’, उनले भने, ‘त्यो पूरा गर्नु त परको कुरा हो । यसरी मापदण्ड नपुगेको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी साधन लेख्न आग्रह गरेको, त्यो पनि गरेका छैनन् ।’ स्वास्थ्य कार्यालयको एकल प्रयासले मात्र समितिको निर्णय कार्यान्वयन गर्न नसक्ने पनि उनले बताएका छन् ।
‘निर्णय त धेरै राम्रो हो तर अहिले स्वास्थ्यकर्मीको अभाव भइरहेको बेला एम्बुलेन्सहरु एकजना नर्स राख्नुपर्ने कुरा गाह्रै छ’, उनले भने, ‘प्रावधान पु¥याउन नसकेपनि, बिरामी बोक्ने सवारी साधन लेखेर संचालन गर्ने कुरा पनि अटेर गरेको अवस्था छ । यसलाई स्वास्थ्य कार्यालयले मात्र हेर्न सक्दैन् । स्थानीय सरकार, प्रहरी, प्रशासन सबैजना लागि पर्नुपर्छ ।’ कार्यालयले सबै पालिकाहरुलाई नियम कार्यान्वयन गर्न भनी पत्रचार गरिसकेको पनि उनले बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने एम्बुलेन्सहरुलाई प्रावधान नपु¥याएको भन्दै कारबाही गरे बिरामीहरु मर्कामा पर्ने बताएका छन् । ‘एम्बुलेन्सहरुलाई व्यवस्थित बनाउन प्रयास गरिरहेका छौँ । सिधै कारबाही गर्दा त्यसको असर बिरामीहरुलाई पर्ने भएकाले पनि एक्सनमा जान नसकेको हो’, उनले भने ।




